Shittalpati
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो

गुल्मी, गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ  । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताए । त्यस्तै सोही गाउँपालिका–७ रुपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट पाँच लाख भन्दाबढी रकम चोरी भएको थियो ।

गत चार दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरीचौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताए । यसैगरी रेसुङ्गा नगरपालिका–७ का विभिन्न मन्दिरमा पनि चोरी भएको थियो । फागुन पहिलो हप्ता सिस्नेहार शिवालय मन्दिरमा काँशको घन्टी, तामाका गाग्री तथा कलश, त्रिशूल, जलधारी, काँचको कचौरा, शङ्ख र भेटी चोरी भएको त्यहाँका वडाध्यक्ष रामजी पन्थीले जानकारी दिए । त्यस्तै वडा नं ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घण्टी, तामाको बेला, चोरी भएको थियो भने नेटाको राम मन्दिरबाट घन्टी, शङ्ख, तामाको थालीलगायत सामग्री चोरी भएको वडाध्यक्ष पन्थीले बताए । उनका अनुसार स्थानीय पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका थिए ।

स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएको जानकारी आएको थियो । रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयवासी आतति भएको वडा नं ७ निवासी शालिकराम पन्थीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताए । उनले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसनधान अधिकृतको टोलीले घटनाबारे अनुसनधान गरिरहेको जानकारी दिए । –रासस

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update