Shittalpati
तिनाउका किसानलाई मकै रोप्ने मेसिन

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले किसानलाई मकै रोप्ने मेसिन निःशुल्क दिएको छ । पालिकाले मकै उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोगप्रति किसानलाई आकर्षित गर्न मेसिन दिएको हो । पछिल्लो समय मकैको माग अत्याधिक रहेपनि उत्पादन कम हुँदा उपभोक्ताले महँगो मूल्यमा मकै खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउँपालिकाले मेसिन वितरण गरेर आधुनिक प्रविधिको प्रयोगको सुरुवात गरेको छ । गाउँपालिकाले किसानहरुको माटो परीक्षण गराएर मकै खेतीको उत्पादन बढाउन यो अभियान शुरु गरेको हो ।

गाउँपालिकाले अध्यक्षसँग किसान कार्यक्रम अन्तर्गत निःशुल्क मकै रोप्ने मेसिन (जब प्लन्ट) किसानहरुलाई वितरण गरेको हो । समुह तथा सहकारीमा आवद्ध भएका किसानहरुलाई लक्षित गरेर ५५ वटा मकै रोप्ने मेसिन गाउँपालिका कृषि शाखाबाट वितरण गरेको छ । मकै रोप्ने मेसिन वितरण कार्यक्रममा सहभागी भएका कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले धान भन्दा स्वास्थ्यको लागि मकै राम्रो भएकाले मकै उत्पादन बढाउन सरकारले स्थानीय, प्रदेश सरकार मार्फत कृषकमुखी कार्यक्रम ल्याएको बताइन् । अहिले नेपालका करीव ३० प्रतिशत जनताहरुलाई सुगरको विरामी भएकाले पनि मकैको माग अत्याधिक रहेकाले मकै उत्पादनमा जोड दिन कृषकहरुलाई अधिकारीले अनुरोध गरिन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषकहरुको आयआर्जन बढाउन पालिकाले माटो जाँच, कृषिमा आधुनिकरण, खेतीमा मेसिनको प्रयोग, उत्पादनमा आधारित अनुदान, प्राविधिक सहयोग जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा गाउँपालिकाले मकै पकेट एरिया घोषणा गरी मकैको विउ, १२ महिना हरियो मकै उत्पादनमा लक्षित कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताए । कृषि उत्पादन विक्रिका लागि बुटवल हाटबजारमा तिनाउ गाउँपालिकाका लागि एउटा सटर लिई भएको उत्पादन विक्री गर्न सहज हुने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा उपाध्यक्ष लालबहादुर थापाले पालिकामा ८० प्रतिशत कृषकहरु रहेकाले व्यवसायिक कृषिलाई जोड दिएर आयआर्जन बढाउने बताए ।

उत्पादन भएको बस्तु विक्री वितरणमा कुनै समस्या नभएको, पालिका भित्र उत्पादन बढाउने, कृषिमा आधुनिकरण गराउने, मानवीय श्रम कम, उत्पादन बढी बनाउने योजनाका साथ कृषि शाखाले पालिकादेखी प्रदेश सरकार समक्ष नयाँ –नयाँ आधुनिकरणका लागि प्रस्ताव पेश गर्ने, स्वीकृत भएका कार्यक्रमहरु कार्यान्वन गराउने अभियानामा सक्रिय भएको कृषि शाखा प्रमुख हेमन्तकुमार शर्माले बताए । तिनाउका अधिकांश स्थानमा सिंचाईको समेत राम्रो सुविधा भएकाले व्यवसायिक कृषिका लागि शाखाले निरन्तर काम गर्दै आएको कृषि शाखा प्रमुख शर्माले जोड दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update