Shittalpati
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं

रेसुङ्गा, गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।

राँगा पाल्ने तीन किसानलाई तीन हजारसहित सम्मान समेत गरिएको खनालले बताए । ‘राँगाको यथेष्ट तथ्याङ्क संकलन गरी योजना बनाउँदै छौँ’, उनले भने । गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्याङ्क संकलन गर्न लागिएको बताए । ‘राँगाको नश्ल सुधारको योजना छ’, उनले भने । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ । गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ । राँगाको तथ्याङ्क संकलन गरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ । पशु सम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्याङ्क अभिलेख गर्ने गाउँपालिकाको तयारी छ । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update