Shittalpati
पशु बधशाला सञ्चालनको तयारी

बुटवल, बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ । कानुनी हिसाबलेसमेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसबाट बुटवलबासीले स्वस्थ र स्वच्छ मासुु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयको विश्वास छ । बधशाला विस्तृत सम्झौता भएलगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुङ्गाएकाले छिट्टै नै बधशाला सञ्चालन हुने बताए । बधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार बुझाउनुपर्नेछ । –रासस

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update