Shittalpati
पाल्पा–बुटवल सडक : गाडी सञ्चालनमा मुस्किल

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलास्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासिए पछि गाडी सञ्चालनमा मुस्किल परेको छ । बिहीबार निरन्तरको वर्षापछि भासिएको सडकमा माथिबाट पहिलो खसिरहेपछि गाडी सञ्चालनमा मुस्किल परेको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले एकतर्फी गाडी सञ्चालन गर्ने गरी काम गरे पनि पानी पर्ने र पहिरो खस्ने गर्दा गाडी सञ्चालनमा समस्या आएको सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालले बताए । उनका अनुसार बिहीबार साँझ बाटो खुलाउन काम गरेपनि राती पानी परेपछि पहिरो खसिरहेकाले पूर्ण रुपमा एकतर्फी गाडी सञ्चालनमा समस्या आएको हो । शुक्रबार भासिएको सडकमै डाइभर्सन बनाएर गाडीहरु पठाउने काम गरिए पनि माथिबाट पहिरो खसिरहेकाले मुस्किल परेको लम्सालले जानकारी दिए । उनका अनुसार पहिरो खस्ने र पानी पर्ने भएपछि नयाँ खोलिएको सडक समेत हिलाम्मे हुँदा गाडीलाई गन्तव्यमा पठाउन समस्या भएको छ । पहिरो नखसेका बेला ग्राभेलका सामग्री राखेर मात्र मुस्किलले गाडी पास गर्ने गरिएको सूचना अधिकारी लम्सालले बताए ।

उनले भने ‘अविरल वर्षासँगै तल्लो भागमा भासिने र माथिल्लो भागबाट पहिरो खस्ने भइरहेको छ, तर पनि हामी डोजर तयारी अवस्थामै राखेर पहिरो फाल्दै मुस्किलले ठूला साना गाडी पठाउने काम गरेका छौं ।’ अझै पनि सडक पूर्णरुपमा एकतर्फी सञ्चालन गर्न गाह्रो भएको लम्सालले बताए । राजमार्गमा बिहीबार दिउँसो ४० मिटर सडक भासिएको थियो । राजमार्गको तल्लो भाग भासिने क्रम रोकिएको छैन । सडक पूर्णरुपमा एकतर्फी सञ्चालन गर्नका लागि पनि समय लाग्ने भएकाले पाल्पा–बुटवल सडकमा यात्रा नगर्न सडक डिभिजन कार्यालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update