Shittalpati
सदरमुकामको सडक स्तरोन्नति गर्ने काम अधुरै

तम्घास, गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकाले डेढ वर्षअघि मर्मत गरियो । लाखौँ खर्च गरेर गरिएको मर्मत गरे पनि अहिले भत्किएर उस्तै छ । जिल्ला अस्पताल, विभिन्न विद्यालय एवं बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ वर्ष नहुँदै सडक भत्किएको छ ।

भत्किएको सडकको दीगो व्यवस्थापनका लागि गत आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन पनि भयो । समयमै काम नहुँदा तम्घासको सडक स्तरोन्नति गर्ने काम अधुरै भएको छ । समयमै काम भएको भए असार मसान्तसम्म तम्घासको सडक चिटिक्क देखिन्थ्यो । काम सकिने बेला निर्माण व्यवसायीले बल्ल काम सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइमार्फत काम हुनेगरी बजेट विनियोजन भएको थियो । तम्घास बजारका खाल्डाखुल्डी पुर्ने र सडकको स्तरोन्नति गर्ने भनी अघिल्लो सरकारले ५० लाख विनियोजन गरेको थियो । सरकार परिवर्तनसँगै पछिल्लो सरकारले पाँच लाख कटौती गरी ४५ लाख मात्र विनियोजन गर्यो । पछि रामकुमारी झाँक्री सहरी विकासमन्त्री हुँदा उक्त बजेटलाई पाँच करोड पुर्याइएको थियो । गत वैशाखमा ठेक्का प्रक्रियामार्फत काठमाडौँको आर ए विल्डर्सले भ्याटबाहेक तीन करोड ९१ लाख ५१ हजार ७४ मा सम्झौता ग¥यो । उक्त रकमबाट भगवती मन्दिरदेखि बेरियलसम्मको सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालय जाने बाटो तथा सोही कार्यालय हुँदै रेसुङ्गा मावि जाने दुई सय ५० मिटर सडक नालीसहित कालोपत्र गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी सडकमा ट्राफिक चिÞन राख्ने, ट्राफिक नियमसहितका रङ लगाउने लगायतका कार्य गर्ने सम्झौतामा उल्लेख रहेको कार्यालयका सव–इञ्जिनीयर नारायण बुढाले जानकारी दिए । –रासस

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update