Shittalpati
सूचना–प्रविधिको विकासले फेरियो हुलाकीको जिम्मेवारी

पाल्पा(रासस)/ रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका यमबहादुर राना गाउँमा अधिकांश चिठ्ठीपत्र लेख्ने र गाउँमा आएको चिठ्ठीपत्र वाचनका लागि बोलाउने गरेको स्मरण गर्छन् । उनी पछिल्लो १०/१२ वर्षदेखि चिठ्ठीपत्र लेखनकार्य हराएको बताउछन् ।
राना मोबाइल र इन्टरनेटका कारण चिठ्ठीपत्र लेखन हराउनु नै व्यक्तिमा रहेका सिर्जनशीलता हराउनु ठान्छन् । जिल्ला हुलाक कार्यालयमा हाल ८५ को दरबन्दी रहेको छ । बयालीस स्थायी कर्मचारी छन् ।

करारमा १५ कार्यरत रहेका छन् । जिल्लाका अतिरिक्त हुलाक कार्यालयमा १ सय ५१ कर्मचारीबाट सेवा प्रदान भए पनि हुलाक सेवाप्रति नागरिकको आकर्षण ओरालो लागेको छ । सूचना प्रविधिको विकाससँगै हुलाकको सेवा पनि फेरिएको छ । हुलाकबाट विगतमा चिठ्ठीपत्र ओसार–पसार गर्ने सेवा अहिले आएर हराएको छ । कार्यालयले चालु आर्थिक वर्षको पुस महिनासम्म साधारणपत्र ९ सय ५२ आदानप्रदान गरेको जनाएको छ । जिल्लामा हुलाक कार्यालय एक, इलाका हुलाक कार्यालय १३ र अतिरिक्त हुलाक कार्यालय ५२ रहेका छन् । गत पुस महिनासम्म ११ हजार ५ सय १५ रजिष्ट्रिपत्र, ९ सय ५२ साधारणपत्र, ७ हजार ६ सय ७९ पत्रपत्रिका, द्रुतपत्र ३९, वैदेशिक पार्सल पाँच रजिष्ट्रि पुलिन्दा छ, बुक पोष्ट पोष्टकार्ड २ सय ९३ र बीमापत्र पाँचवटा सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी टंक भण्डारीले जानकारी दिए । कोरोनाका कारण झण्डै आधाभन्दा बढी पत्रपत्रिका हुलाक कार्यालयमा नै कमी आएको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

हुलाकबाट अहिले जिल्लास्तरमा सञ्चालित एफएम रेडियोको इजाजतपत्र तथा लाइसेन्स नवीकरण, रोयल्टी संकलनका कामसमेत हुलाकबाट हुँदै आएको छ । हुलाक कार्यालयबाट एफएम तथा पत्रकारको कामका लागि जिल्ला बाहिर धाउनुपर्ने झन्झट अन्त्य भएकोे छ । पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र, अनलाइन नवीकरणका लागि निवेदन संकलन हुन्छ । कार्यालयका प्रमुख देवबहादुर थापा सारुका अनुसार कार्यालयले डाँक सेवाबाट सम्पादित कार्यबाहेकका सहुलियतदरमा पत्रपत्रिका दर्ता र नवीकरण, हुलाक वस्तुको आयात र निर्यात, नयाँ पोष्टबक्स नम्बरको नवीकरण र विस्तार, टिकट बिक्री हुँदै आएको छ । चालु आव २०७७/७८ को गत पुस महिनासम्म झण्डै ११ लाख ९० हजार ७४ राजश्व संकलन गरेको छ । सूचना अधिकारी भण्डारीका अनुसार हुलाक टिकट बिक्रीबाट छ लाख ९० हजार ९ सय, पोष्टबक्स दुई हजार ६ सय ३५, पत्रपत्रिका नवीकरण तथा दर्ता शुल्कबाट दुई हजार ७ सय ६५, काउन्टर अनलाइन दर्ताबाट ८७ हजार ६ सय ८७ संकलन भएको छ । जिल्लाको तीनवटा केवुल नेटवर्कको नवीकरणबाट तीन हजार ७ सय ५०, केवुल रोयल्टीबाट तीन लाख २५ हजार १ सय ९०, एफएम रोयल्टीबाट ७५ हजार ७ सय ९७, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणबाट एक हजार ३ सय ५० राजश्व संकलन भएको जनाइएको छ ।
बचत बैंकमा ८१ लाख
बचत बैंक सेवा कार्यक्रममा झण्डै ८१ लाख पूँजी रहेको छ । सर्वसाधारणबाट ६७ प्रतिशत ब्याजदरमा रकम बचत गर्ने व्यवस्था गरे पनि हालसम्म सरकारी कर्मचारीलाई मात्र लगानी गरिएको छ । आठ प्रतिशत ब्याजदरमा सरकारी कर्मचारीले ऋण पाउने व्यवस्था गरिए पनि हालसम्म सर्वसाधारण नागरिक यो सेवाबाट बञ्चित रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update