Shittalpati
सबैले खोप लगाऔं

नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिकरुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले चिन्तालाई बढाएको छ । यसको नियन्त्रणको मुख्य उपाय भनेकै खोप र स्वास्थ्य मापदण्ड हो । विज्ञहरुले पनि स्वास्थ्य मापदण्ड अपनाउन र खोप लगाउन आग्रह गर्दै आएका छन् । तर आमनागरिकले यसको वेवास्ता गरेका छन् ।

धेरैले कोभिड विरुद्धको खोप लगाउनै हिकिच्याएका छन् भने स्वास्थ्य सर्तकतामै हेल्च्याक्राई गरेका छन् । यसले पनि संक्रमणको दर झन जटिल बन्दै जान सक्ने आंकलन गरिएको छ । नेपालमा अहिले बुष्टर डोज लगाउनेको संख्या २५ प्रतिशत मात्रै छ । धेरैले यसको बेवास्ता गरेका छन् । जतिबेला नेपालमा खोप न्यून मात्रामा भित्रिएको थियो त्यतिबेला खोप कसरी पाइन्छ भन्ने चासो राख्ने नेपालीहरु आज सरकारसँग खोप छ भन्ने थाहा पाएर पनि लगाउन इच्छुक देखिदैनन् । कति मुलुकले खोप नै नपाएका बेला नेपाललाई अन्तर्राष्ट्रिय समुदायले निकै माया गरेर खोप उपलब्ध गराएकै हो । प्राप्त खोप नागरिक सामु कसरी पुर्‍याउने भन्ने विषयमा सरकारले ‘सम्भव भएसम्म’ कोशिस गरेकै छ । यस अवस्थामा आम नागरिकको जागरुकता कम भएको पाइएको अभिव्यक्ति विश्व स्वास्थ्य संगठनले समेत औल्याइसकेको अवस्था छ । सरकारी तथ्यांक अनुसार अहिलेसम्म १२ वर्ष र सोभन्दा माथिका करिब १२ प्रतिशतले पहिलो मात्राकै खोप लगाएका छैनन् । उक्त उमेर समूहमा अहिलेसम्म ८८.१ प्रतिशतले पहिलो मात्रा र ८७.८ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाएर दोस्रो मात्रा नलगाउनेहरू करिब ८८ हजार जति मात्रै छन् । यसबाट के बुझिन्छ भने पूर्ण मात्रा लगाउनेभन्दा पहिलो मात्रा नै नलगाउनेको संख्या निकै बढी छ। करिब ३० लाख नागरिकले अझै पहिलो मात्रा पनि खोप नलगाउनु र मृत्यु हुनेहरूले पनि खोप नलगाएको पाइनु चिन्ताको विषय हो । खोप कोरोना महामारीबाट बच्न सक्ने एक विकल्प हो । यसर्थ खोप नलगाएकाहरुले सरकारले उपलब्ध गराएको खोप लगाऔं, आफु र आफ्नो परिवारलाई सुरक्षित राखौं ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update