Shittalpati
रेमिट्यान्स र पर्यटन

नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्र आम्दानीको गतिला माध्यम बनेका छन् । तर कोभिडका कारण यि क्षेत्र पछिल्लो समय निकै कमजोर बन्न पुगे । फलस्वरुप नेपालको अर्थतन्त्र नै कमजोर बन्यो । कोभिड–१९ को असरका कारण पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै रेमिट्यान्स आप्रवाहमा पनि कमी आएको छ । कुनै कारणले विश्व अर्थतन्त्रमा मन्दी आए, रोजगारदाता देशमा राजनीतिक संकट अथवा प्राकृतिक प्रकोपका कारण आर्थिक क्रियाकलापमा कमी आए लाखौँ आप्रवासी कामदारको रोजगारी खोसिन्छ । यस्तो अवस्थामा तिनले आफ्नो देशमा पठाउने रेमिट्यान्समा कमी आउन्छ त्यो स्वभाविक नै हो । अहिले नेपालमा त्यही अवस्था सिर्जना भएको छ । रेमिट्यान्स आप्रवाहमा कमी आएकै कारण अहिले अर्थतन्त्र चिन्ताजनक अवस्थामा छ । आयातलाई धान्न, शोधनान्तर स्थितिलाई सन्तुलनमा राख्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन रेमिट्यान्सले नै सघाइरहेको छ । रेमिट्यान्स अर्थतन्त्रको टेकोको रूपमा रहेको छ ।

रेमिट्यान्स घट्नासाथ आर्थिक चक्रमा गडबडी उत्पन्न हुन थाल्छ । अहिले देशको शोधनान्तर स्थितिसमेत घाटामा गएको, चालू खाता ऋणात्मक रहेको, वैदेशिक मुद्रा सञ्चिति घटेको र मुद्रास्फीति बढेको अवस्थाले देशको अर्थतन्त्रको तस्बिर थप चुनौतीपूर्ण बनेको हो । पर्यटन पनि देशको मुख्य आम्दानीको स्रोत हो । तर त्यही स्रोत पनि कोरोना महामारीको चपेटामा फस्यो । अहिले बल्ल तल्ल पर्यटन क्षेत्र खुला भएर चहलपहल भए पनि पुरानै लयमा फर्कन भने सकेको छैन । जसको असर नेपाली अर्थतन्त्रमा समेत देखिएको छ । पर्यटकको आगमन बढाउन तथा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार–प्रसार गर्न सरकारले तत्काल विशेष योजना ल्याउनु आवश्यक छ । अन्यथा नेपाली निर्यात जतिसुकै बढे पनि आयातको तुलनामा निकै कम भएकाले त्यसले शोधनान्तर स्थितिमा खासै फरक पार्दैन । मुलुकमा भएका विदेशी मुद्रा आर्जनका विकल्पमध्ये रेमिट्यान्स र पर्यटन आयमा जोड दिनु नै हालको अवस्थामा विदेशी मुद्रा सञ्चिति बढाउने विकल्प हुन् । तसर्थ यसतर्फ सरकार र सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update