Shittalpati
नेशनल प्याथ ल्याबको १८ औं शाखा तानसेनमा

पाल्पा, नेशनल प्याथ ल्याबले १८ औं शाखा पाल्पाको तानसेनमा विस्तार गरेकोे छ । उसले  तानसेनस्थित आन्दोलनचोकमा शुक्रबारदेखि शाखा शुभारम्भ गरेको हो ।  

डेढ करोड लागतमा ल्याव सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । उसले सबै खाले परीक्षण तानसेनमै सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरि सेवा शुभारम्भ गरेको हो । संस्थाका अध्यक्ष रुद्र बहादुर कार्कीले गुणस्तरीय सेवा प्रदान गर्नका लागि तानसेनमा शाखा सञ्चालनमा ल्याइएको बताए । अब प्रयोगशाला सम्बन्धी परिक्षणका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । नमुना परिक्षण गर्न बाहिर पठाउदा धेरै समय पर्खनुपर्दा बिरामीको उपचार समेत प्रभावित हुने अध्यक्ष कार्की बताउँछन् ।  

प्रयोगशालामा रगतसम्बन्धी सम्पूर्ण जाँच हुुने शाखाका टेक्निकल डाइरेक्टर डा. रुपेन्द्र शाक्यले  जानकारी दिए । उनका अनुसार सुगर, मृगौला, मुटु, पेनक्रियाज, हड्डी लगायतका सम्पूर्ण बायोक्यामेस्टिक परीक्षण गरिन्छ । प्रयोगशालामा हर्मोन सम्बन्धी ( थाइराइड, ट्युमर क्यान्सर, प्रजनन् स्वास्थ्य ) सम्र्पूण जाँच पनि  गरिन्छ । माइक्रोबायोलोजी सेवा, सेलोलोजी परीक्षण संकलन भएको १÷२ घण्टामै रिपोर्ट दिइने व्यवस्था रहेको डा. शाक्यले बताए । उनले भने “हामीले दक्ष तथा अनुभवी प्याथोलोजिष्ट, टेक्नोलोजिस्ट, टेक्निसियनहरुबाट सेवा दिन्छौं ।” ल्यावमा गुणस्तरीय मापदण्ड पुरा गरेका फुल्ली बायोक्यामेस्टिक अरोमेटिक एनोलाइजर, फुल्ली इम्युनोलोजी, हेमाटोलोजी एनालाइजर, प्रोटिन एनालाइजर जस्ता उपकरणहरुबाट परीक्षण गरिने डा. शाक्यले बताए । 

ल्यावको शुभारम्भसँगै निरीक्षणमा पुगेका नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जटिल खालका ल्याव परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अबदेखि सम्पूर्ण ल्यावका सेवाहरु तानसेनमै उपलब्ध हुने भएपछि जिल्लाका नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । उनले सेवालाई थप सहज र गुणस्तरीय बनाएर दीर्घकालीन रुपमै अगाडि बढाउन संस्थालाई आग्रह गरे । वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको ल्याबले पाल्पासहित देशका १८ शहरमा शाखा विस्तार गरेको छ ।  अहिले पाल्पासँगै बुटवल, काठमाडौँ, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुल्सीपुर, पोखरा, चितवन, धनगढी, महेन्द्रनगर  लगायतका ठाउँहरुमा यसका शाखाहरु सञ्चालनमा छन् ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update