पाल्पा,आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सरकारी निकाय तथा ट्रेड युनियनहरुले विभिन्न प्रचारात्मक कार्यक्रम गरी दिवस मनाउँदैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको हो । नेपालमा वि.सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको पाइन्छ । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो । तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो ।
ट्रेड यूनियनले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्यूनतम ज्याला बढाउन, आर्थिक मन्दीका नाममा तलब रोक्ने काम बन्द गराउन माग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ ले १ करोड १० लाख ३८ हजार मानिस कुनै न कुनै किसिमको रोजगारमा संलग्न रहेको देखाएको छ । यसमध्ये कृषि, वन र माछापालनमा ५० प्रतिशत, सामान्य वा प्राथमिक पेशामा २३ प्रतिशत, सेवा तथा वस्तु बिक्रीमा करिब ६ प्रतिशत संलग्न छन् । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिन थालेको थियो ।


