Shittalpati
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईँदै

पाल्पा, विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर यो दिवस मनाइँदैछ । शेक्सपियरलगायत विभिन्न चर्चित लेखकको जन्मदिनको अवसर पारेर संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २३ अप्रिल सन् १९९५ देखि सो दिवस मनाउन थालेको हो । नेपालमा भने पाँच वर्षदेखि गैह्रसरकारी क्षेत्रबाट यो दिवस मनाउन थालिएको हो । आजै विश्व प्रतिलिपि अधिकार दिवस पनि परेको छ । युनेस्कोले अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रवद्र्धन गर्न सन् १९९५ देखि हरेक वर्ष आजको दिन (२३ अप्रिल) मा विश्व पुस्तक एवं बौद्धिक अधिकार दिवस मनाउँदै आएको छ । बेलायतका कवि, नाट्यकार तथा अभिनेता शेक्सपियरको जन्म र स्मृति दिवस पनि आजै पर्छ । विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा पुस्तक पढ्ने बानीको विकास हुन थालेको छ । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ । दिवसले पुस्तकको शक्तिलाई थप प्रकाश पार्ने र पुस्तकको पहुँच सबै क्षेत्र, समुदाय तथा वर्गमा पु¥याउनु पर्नेमा युनेस्कोले जोड दिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update