Shittalpati
पर्यटन बढाउनेतर्फ ध्यान देऊ

विदेशी पर्यटक भित्रिने मुख्य सिजन भर्खरै सुरु भएको छ । अबका तीन महिनालाई पर्यटन व्यावसायीले पर्यटनको मुख्य सिजन मान्छन् । पदयात्रा र साहसिक गतिविधिमा रमाउने गरि यो बेला पाहुना नेपाल आउन रुचाउँछन् । नेपाल आउन खोज्ने पाहुनाले महिनौं अघि होटल बुकिङ पनि गरिसकेका हुन्छन् । तर, योपटक भने बाह्य पर्यटकको चहलपहल भने खासै देख्न सकिएको छैन् । पर्यटक भित्रिने मुख्य सिजन भएपनि सुखद् नहुनुमा पाहुना आगमन सन्तोषजनक रुपमा बढ्न नसकेको व्यवसायीको गुनासो छ । कोभिड–१९ महामारीका कारण नराम्रोसँग धाराशयी बनेको पर्यटन क्षेत्र अहिले पनि राम्रोसँग उठ्न सकेको छैन । वि.स. २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग असर गरेपछि पर्यटकीय सिजनमा समेत सुनसान जस्तै छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने भए पनि त्यसको सुधारमा कसैको पनि ध्यान जान सकेको छैन । सिजनको समयमा जुन रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्नुपर्ने हो त्यसो हुन नसक्नु दुखद् हो । पर्यटकीय क्षेत्रमा चहलपहल नहुदा मुलुकको अर्थतन्त्र समेत शिथिल अवस्थामा पुगेको छ । हाल बैंकहरूमा पैसा थुप्रिएको छ । तापनि यहाँका उद्यमी व्यवसायीहरूले चाहे जति ऋण लिई विभिन्न व्यवसाय सञ्चालनबाट  मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन् । फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन् । आयातभन्दा निर्यात बढी घटेकोले अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन् । विगतमा जस्तै चालू खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन् ।

अहिलेको अवस्थामा स्थानीय, प्रदेश र संघीय सरकारले पर्यटन भिर्याउने दिशामा आवश्यक कदम चाल्नुपर्दछ । पर्यटन व्यवसायीको मनोवल बलियो बनाउन सरकारले साथ दिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । सरकारले पर्यटन व्यवसायलाई सहयोग पुग्नेगरी पर्यटन व्यवसायी र नेपाल वायु सेवा निगमसँग समन्वय गरेर विशेष कार्यक्रम तर्जुमा गर्न अग्रसरता लिनुपर्छ । त्यतिमात्र गर्न सके पनि पर्यटन व्यवसायी उत्साहित हुनेछन् । तसर्थ पर्यटन व्यवसायीलाई उत्साहित बनाएर धेरै भन्दा धेरै पर्यटकहरु भिर्याउने दिशामा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update