Shittalpati
वन्यजन्तु संरक्षण आजको आवश्यकता

वन्यजन्तु संरक्षण अहिले निकै जटिल विषय बन्दै गएको छ । वन्यजन्तुहरुको संरक्षणलाई लिएर हुनुपर्ने सहकार्य, समन्वय र सहअस्तित्वको अभावले जीवजन्तुहरुको अस्तित्वमा ठूलो चुनौतीसमेत थपिरहेको छ । नेपालमा निरन्तर जीवजनावरहरुको चोरीसिकारी, पैठारीजस्ता कार्यहरुमा सोचेको अनुपातमा नियन्त्रण हुन सकिएको छैन । त्यस्ता कार्यहरुमा तस्करहरुको संलग्नताले कयौँ दुर्लभ जनावरहरु समेत लोप हुने अवस्थामा पुगेका छन् । त्यति मात्र होइन तिव्र मानव विकाससँगै बन्यजन्तु लोपउन्मुख अवस्थामा पुगेका छन् । वास्तवमा वन्यजन्तु नेपाल र नेपालीका गहना हुन, यिनीहरुको संरक्षण गर्नु आवश्यक छ । वन्यजन्तुका बासस्थान मासेर नागरिकले घर बनाउनेदेखि अन्य काम गर्न थालेका कारण पनि अहिले जंगली जनावरसमेत गाउँ घर पसेर नोक्सान गर्न थालेका छन् । मानिसले जनावारका बासस्थानको हानिनोक्सानी नगरी उनीहरुलाई सुरक्षित तरिकाले बाच्न पाउने अधिकारको सुुनिश्चत गर्न आवश्यक छ । संरक्षित वन्यजन्तुको लागि नागरिकस्तरबाटै ध्यान दिनुपर्छ । विश्वमा पाइने सम्पूर्ण जंगली जनावर र रुख–बिरुवाहरुबारे सचेतना जगाउन र तिनको संरक्षण सम्वद्र्धन गर्न हरेक वर्ष विश्व समुदायले मार्च–३ तारिखका दिनलाई विश्व वन्यजन्तु दिवस मनाउँछ । आज  विविध कार्यक्रमहरु गरी यो दिवस मनाइँदै छ । तर दिवसले सार्थकता  पाउन भने सकेको छैन् ।
हरेक वर्ष वन्यजन्तुको चोरी सिकारी र तस्करी बढ्दो छ । वन्यजन्तु मारिने क्रम जारी छ ।

नेपाल पनि यस्तो अवस्थाबाट मुक्त छैन । पर्यावरण चक्रमा संसारका सबै प्राणीको आफ्नै विशिष्टतम महत्व छ । र, तिनको सुरक्षा गर्नु आजको आवश्यकता हो । जैविक विविधताकै आधारमा पृथ्वी र यहाँका हरेक प्राणी र वनस्पतिको अस्तित्व रहने हुँदा त्यसको संरक्षण गर्नु मानवको दायित्व हो । मानव जाति प्राणीमध्येको सर्वोच्च हुनुको अर्थले पनि अन्य प्राणीको संरक्षण गर्ने दायित्व मानव कै हो । मानव सामाजिक र बौद्धिक प्राणी पनि हो, त्यसैले विश्वमा रहेका सम्पूर्ण जंगली जनावर र रुखबिरुवाहरुको बारेमा सचेतना जागृत गराउँदै तिनको संरक्षण र सम्वद्र्धन गर्ने पहलकदमी गर्न हाम्रो भूमिका हुनु पर्दछ । नङ र मासु सरहको वन र वन्यजन्तुको सम्बन्ध र यी दुबैसँग मानव जातिको अस्तित्व जोडिएकाले त्यसको संरक्षणमा जनतादेखि राज्यसम्म लाग्न आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update