पाल्पा, फागुन २० गते बुधबार राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने) भने सञ्चालन हुने छन् । कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि चल्नेछन् । अन्य सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगले जनाएको छ ।
फागुन १८ गते राति १२ः०० बजेदेखि भने मौन अवधि सुरु हुने छ । मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ ।अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलबाट घर बसोवास गर्ने होटलसम्म र घर/बसोवास गर्ने होटलबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।


