पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋृषिराम सुवेदीले बताए । शुक्रबार सुवेदीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ । “फागुन १५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा निषेध गरिएको छ”, सूचनामा भनिएको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ एवम् जिल्ला सुरक्षा समिति पाल्पाको बैठकको निर्णय बमोजिम जिल्लाभर लागु हुने गरी मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । यस विपरीत हुने गरी मदिरा एवं मदिराजन्य पदार्थको ओसारपसार, बिक्रीवितरण एवं सेवन गरी सार्वजनिक शान्ति र अमन चयन भ· हुने कुनै पनि गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने सहायक प्रजिअ सुवेदीले बताए । उनले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।


