पाल्पा, अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । नेपालमा १ सय ३१ वटा भाषा बोलिन्छन् । तर ती भाषामध्ये मातृभाषाका रूपमा बोलिने भाषाहरूको संख्या, बोलिने स्थान, वक्ता र भाषिक जीवन्तताबारे सोधखोज भएको छैन । राष्ट्रिय जनगणनाले समेत भाषिक चित्र दिन नसकेको भाषाविज्ञहरू बताउँछन् । गणनाबाट केवल जातजाति र ती भाषाका वक्ता संख्या मात्रैको आँकडा आउने गरेको छ । भाषाले सञ्चार, पहिचान र विकासका लागि दीर्घकालीन महत्व बोकेको हुन्छ ।
भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवशान हुन्छ । भाषाको मृत्युसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण सांस्कृतिक र भाषिक विविधता लोप हुन पुग्दछ । भाषिक विविधताले नवीन सोचाइ र यसले संसारलाई हेर्ने नवीन दृष्टिकोणसमेत बोकेको हुन्छ । भाषिक विविधता आफैंमा वैज्ञानिक खोज–अनुसन्धानको विषय पनि हो । पछिल्लो समय मातृभाषा लोप हुन थालेका छन् । भाषा लोप हुन नदिन पनि आज सरोकारवाला निकायहरुले विभिन्न कार्यक्रम गर्दै छन् । दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै छन् ।

