Shittalpati
कमजोर सामाजिक न्याय

सामाजिक न्याय भनेको त्यो आधारभूत संरचना हो, जहाँ सबै किसिमका असमानताको अन्त्यका लागि आधिकार, शक्ति, अवसर, आय र सम्पत्तिको वितरण समान, सन्तुलित र न्यायपूर्ण किसिमले गरिन्छ । शक्तिसम्पन्न र शक्तिविहीन, ठूलो सानो, धनीगरिब, उँचनीचको विभदेको अन्त सामाजिक न्यायको मूल मर्म हो । समाजका सबै सदस्य समान वा बराबर हुन् भन्ने धारणा नै सामाजिक न्याय हो । धनीले गरिबलाई शोषण नगर्ने, शिक्षितले अशिक्षितलाई नठग्ने, माथिल्लो जात भनिनेले तल्लो जात मानिनेलाई बराबर मान्ने, गोराले कालालाई समान ठान्ने, अन्तर्राष्ट्रिय वा राष्ट्र भाषा बोल्नेले स्थानीय भाषा वा मातृभाषा बोल्नेलाई उत्तिकै सम्मान गर्नेजस्ता पक्षले सामाजिक न्यायलाई जीवन्तता प्रदान गरेका हुन्छ । सामाजिक न्यायको सम्बन्ध व्यक्तिको समुदायप्रतिको त्यो नैतिक जिम्मेवारी हो । जसको सहयोगबिना सही व्यवहार गर्नु, सही कुरा र कामको रक्षा गर्नु, निष्पक्ष ढंगले काम गर्नु, समान दण्ड र पुरस्कारको व्यवस्था गर्नुसँग रहेको हुन्छ ।

समाजमा धन, पढाइ, सोचाइ, शक्ति, साधन, गुण, कर्म, प्रकृति आदिका कारणले समानता र असमानता पाइन्छ । ती असमानताका बीचमा समानता खोजेर मानवीय मूल्यको जगेर्न गर्नु नै सामाजिक न्यायको मूल उद्देश्य हो । तर पछिल्लो समय सामाजिक न्याय कमजोर बन्दै गएको छ । यो अत्यन्त दुुखको कुरा हो । सामाजिक न्यायलाई दिलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि यो दिवस मनाउँदै आएका हो ।  हरेक वर्ष दिवस मनाउने  गरिएपनि आम नागरिकले सामाजिक न्याय पाउन नसक्नु विडम्वना हो ।   

वर्तमान अवस्थामा सामन्य नागरिकको जीवन कष्टकर बनेको छ । कतिपय भोक भोकै मृत्युवरण गर्न पुगेका छन् भने कतिपय कुपोषणको सिकार भएका छन् । मुलुकमा दैनिक जसो दर्दनात्मक हत्या, हिंसा, बलत्कारजस्ता घटना घटिरहेका छन् । कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएर आन्दोलित भइरहेका छन् । घुसखोरी अनियमितताजस्ता कुराले जनता आक्रान्त छन् । वैदेशिक रोजगारी गुमेर स्वदेश फर्कनहरुले पीडा,उत्पीडन सहन नसकेर कयौं आत्महत्या गरेको उदाहरण टड्कारो छ । यस्तो अवस्थाले समाजमा सामाजिक न्याय हराउँदै गएको संकेत गरेको छ । सरकार जनताको अभिभावक भएकाले आफ्ना नागरिकप्रति सम्मान र बराबरीको व्यवहार गरी अभिभावकत्व प्रदान गर्न आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update