Shittalpati
तानसेनमा साहित्यिक प्रतियोगिता  

पाल्पा, जिल्लाको तानसेनमा साहित्यिक प्रतियोगिता भएको छ । तानसेन नगरपालिका वडा न. ३  भित्रका विद्यालयहरुबिच प्रतियोगिता भएको हो ।

साहित्यिक कार्यक्रम आयोजक समिति तानसेनको आयोजना, पाल्पा साहित्य समाजको समन्वय र  वडा कार्यालयको आर्थिक सहयोगमा बुधबार पद्म पब्लिक नमूना माध्यमिक विद्यालयको सभाहलमा प्रतियोगिता भएको हो ।  विद्यार्थीहरुमा साहित्यप्रति रुची जगाई साहित्य क्षेत्रमा नयाँ जागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक पुष्करराज रेग्मीले बताए । उनका अनुसार विद्यार्थीहरुबिच लघुकथा वाचन, कविता लेखन तथा वाचन र वक्तृत्वकला विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा वडा भित्र रहेका पद्म पब्लिक नमूना माध्यमिक विद्यालय, जनता नमूना माध्यमिक विद्यालय, पाल्पा आवासिय माध्यमिक विद्यालय, पाल्पा प्यारागन बोडि· स्कूल र सेन्ट कपितानियो इ·लिस बोडि· स्कूलका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा लघुकथातर्फ पाल्पा प्यारागन इ·लिस बोडि· स्कूलकी छात्रा भूमिका बस्याल प्रथम, पाल्पा आवासिय मा.वि.का छात्रा कृष्टी बस्याल द्वितीय, जनता मा.वि.का छात्रा अलिन्सा घिमिरे तृतीय र सेन्ट कपितानियो इ·लिस बोडि· स्कूलका छात्र वैवभ कार्कीले सान्त्वना स्थान प्राप्त गरेका छन् । यस्तैगरी कविता लेखन तथा वाचन प्रतियोगितातर्फ पाल्पा प्यारागनकी  कौशल्या बस्याल प्रथम, सेन्ट कपितानियोकी प्रदिप्ती नेपाल द्वितीय, पपकी आसा गन्धर्व तृतीय र जनता माविकी  तुलजा नेपाल सान्त्वना भएका छन् । यस्तै वक्तृत्वकला प्रतियोगितातर्फ सेन्ट कपितानियोकी रियाना नेपाल प्रथम, प्यारागनकी  केकी बस्याल द्वितीय, जनता माविकी प्रेस्का घिमिरे तृतीय र पाल्पा आवासियकी छात्रा लजिना कार्की सान्त्वना भएका छन् ।

प्रतियोगिताका विजेता तथा सहभागी समूहलाई नगद, शैक्षिक सामग्री र प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका –३ का वडाका अध्यक्ष बाबुरत्न शाक्यले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार प्रदान गर्दै उनले प्रतियोगिताले  विद्यार्थीको साहित्यिक प्रतिभा पहिचान र प्रवद्र्धन गर्न  महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भौतिक पूर्वाधार मात्र विकास नभई शैक्षिक, साहित्यिक विकास पनि समाजको अभिन्न अङ्क भएकाले वडाले आगामी वर्षमा पनि यस्ता कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्ने बताए । पाल्पा साहित्य समाजका संरक्षक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहले साहित्य क्षेत्रको विकासमा यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने बताए । उनले पछिल्लो समय नयाँ पुस्ताहरुमा साहित्यप्रति रुची घट्दै गएका बेला साहित्यिक कार्यक्रम आयोजक समितिले विद्यार्थीहरुमा प्रतियोगिता आयोजना गर्नु रचनात्मक कार्य भएको उल्लेख गरे । कार्यक्रममा तानसेन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् लेखा अधिकृत कोशलराज घिमिरे, पाल्पा साहित्य समाजका सल्लाहकार चित्रवलीराम सुवाल, पाल्पा प्यारागन वोडिङ्ग स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्री, पद्म पब्लिक नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द प्रसाद नेपाल, सहायक प्रधानाध्यापक सीता अधिकारी, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष एवम् परेवा पाक्षिक पत्रिकाका सम्पादक भोजराज भट्टराई,साहित्यकार प्रेमराज खराल लगायतले वडातहमा आयोजना गरिने साहित्यिक कार्यक्रमहरूले स्थानीय प्रतिभाहरूको प्रवद्र्धन, सांस्कृतिक जगेर्ना र सामाजिक चेतना वृद्धिमा सहयोग पुग्ने बताए । प्रतियोगितामा चित्रवलीराम सुवाल, चन्द्रकान्त न्यौपाने, गोविन्द प्रसाद नेपाल, प्रेमराज खराल,  सविता भट्टराई र पुरुषोत्तम अर्याल निर्णायक मण्डलको भूमिकामा रहेका थिए । समितिको संयोजक  पुष्कर अथक रेग्मीको अध्यक्षता, सदस्य इन्दिरा ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update