तानसेन, पाल्पामा ३१ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कम्युनिष्ट पार्टी तानसेन नगर समितिले शुक्रबार बनाएको हो ।
दिवसका अवसरमा यहाँका सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले जनयुद्धमा ज्यानको बलिदान दिने सहिदका परिवारलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सहिदका आफन्तलाई सम्मान गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सोम प्रसाद पाण्डेयले मुलुकको समृद्धि अहिलेकोे मुख्य अभिभारा भएको बताए । उनले नेपाली जनताको चाहना र भावना पुरा गर्ने हाम्रो एउटा मात्र अर्जुनदृष्टि आर्थिक समृद्धि रहेको बताए । उनले भने “हामी जनताको सेवा गर्न तयार रहेकोले यसपाली भारी मतका साथ विजयी हुनेछौं । जनताले बलिदान दिएर ल्याएको व्यवस्थामा अब नागरिकको अवस्था परिवर्तन गर्नुपर्ने छ । त्यो कार्यका लागि अब नेपाली कम्युनिष्ट पार्टीले विजयी हासिल गर्नुपर्छ ।” नेकपाबाट समानुपातितर्फकी उम्मेदवार पार्वती विश्वकर्मा (सामना)ले सुशासन र समृद्धिका लागि नेकपाको विकल्प नभएको बताइन् । दश वर्षे जनयुद्धदेखि जेनजी आन्दोलनमा ज्यान गुमाउने सहिदप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताइन् ।
नेकपाका केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डेयले जनयुद्धका बाकी कामहरु पूरा गर्नका लागि देशभर नेपाली कम्युनिष्ट पार्टी पहिलो बनाउने गरी पार्टी कार्यकर्ताहरु मेहनत गर्न आवश्यक रहेको बताए । नेकपा पाल्पाका संयोजक अशोक कुमार शाहीले मार्सवादी चिन्तन र अहिलेको क्रान्तिसम्म आउँदा कम्युनिष्टहरु एक भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा वाईसिएलका केन्द्रीय सदस्य हरीस गिरी ले लोकतन्त्र र संघीय व्यवस्था स्थापित गर्ने महान् जनयुद्धका सहिदले गरेको योेगदानलाई साहाकार बनाउन अबको दिनमा नेपाली कम्युनिष्ट पार्टीले कार्य गर्नुपर्ने बताए । नेकपा नगर अध्यक्ष प्रतिक्षा गाहा सिंजालीको अध्यक्षता,उपाध्यक्ष युवराज पन्तको स्वागत, नगर सचिव नवराज बस्याल(बादल)को सञ्चालनमा कार्यक्रम भएको थियो ।

