Shittalpati
विश्व रेडियो दिवस र यसको सान्दर्भिकता

आज फेब्रुअरी १३ तारिख । अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबिचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

नेपालको सन्दर्भमा रेडियोको महत्व अझै धेरै छ । नेपालको भौगोलिक तथा अन्य सामाजिक, साँस्कृतिक तथा धार्मिक हिसावले विविधता रहेकाले नेपालमा रेडियोको लोकप्रियता अझै कायमै छ । नेपाली जीवन शैलीको कारणले पनि अन्य सञ्चार माध्यमको तुलनामा रेडियो माध्यम लोकप्रिय र उपयोगी बनेको हो । नेपालमा एफएम प्रणालीमा रेडियो प्रसारण सुरु भएपछि सर्वसाधारणको पहुँचमा सहजरुपमा रेडियोको प्रसारण पुगेको हो । अहिले पनि रेडियो सबैको पहुँचमा छ । रेडियोले हरेक घटना परिघटनामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । नेपालमा कोरोना प्रकोप सुरु भएर लकडाउन सुरु भएपछि जुन तवरले ठाउँ–ठाउँमा रहेका नागरिकहरुलाई रेडियोले सचेतना गराउने, सचेतनामुलक रेडियो कार्यक्रमहरु सञ्चालन गर्ने, स्थानीय तहलाई निरन्तर खबरदारी गर्ने काममा महत्पवूर्ण भूमिका खेले त्यो प्रशंसनीय छ । तर इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत सञ्चार माध्यमहरुको उपयोगमा भने केही कमी  आउन थालेको भने पक्कै हो । यद्यपी नेपालमा अहिले नै श्रोताको संख्या घटेकाले रेडियो बन्द गर्ने निर्मम निर्णयमा पुगिहाल्नु पर्ने अवस्था आइहालेको छैन । तर, रेडियोप्रति श्रोताको चाख बढाउने काम गरिएन भने त्यो दिन धेरै टाढा पनि छैन ।

 रेडियोले तीव्र रूपमा सूचना प्रवाहभन्दा पनि विषय–वस्तुको गहनतामा पुग्ने कोसिस गर्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ । अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रूपमा प्रस्तुत गर्दा स्रोताको चाहना पूर्ति हुन सक्दैन । कुनै पनि विषयको साङ्गोपाङ्ग प्रस्तुति, फरक मतलाई पनि दिइने स्थान, नेताहरूको भाषण र कटाक्षभन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियो कार्यक्रम र समाचारहरू सम्प्रेषण गर्नुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियोमा काम गर्ने जनशक्तिमा लगानी आवश्यक छ । जुन अहिले रेडियो प्रसारकहरूको प्राथमिकतामा छैन । यसर्थ रेडियोहरूलाई वास्तविक आवाजविहीनहरूको आवाज बनाउन कार्यक्रमको प्रस्तुतिमा परिमार्जनसँगै श्रोताको चाहनालाई प्राथमिकतामा राखी सञ्चालन गर्न सकियो भने रेडियो दिवसको सान्दर्भिकता थप बढेर जाने छ  ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update