Shittalpati
विश्व माटो दिवस मनाइँदै

पाल्पा, आज नेपालसहित विश्वभर विश्व माटो दिवस  मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।

थाइल्यान्डका राजा भूमिबोल अदुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् डिसेम्बर ५ मा मनाउन थालिएको हो । माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता भने बढेको छ । नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् । नेपालको माटोमा उर्वरा शक्ति ह्रास, प्रांगरिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको ३३ वर्षअघि गरिएको अनुसन्धानमा देखिएको थियो ।

कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा माटो रहेको छ । विश्व माटो दिवस कार्यक्रमले मानिसलाई माटोको महत्वको जानकारी गराउँदै माटोको उचित व्यवस्थापन एवं संरक्षण गर्दै उर्वरा शक्ति वृद्धि गर्न जनचेतना बढाउन मद्दत गर्ने कृषि विभागले जनाएको छ । हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा हस आउने क्रम दिन प्रतिदिन बढ्दो छ । त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ र विश्वस्तरमै एकताबद्ध भएर सम्बोधन गर्न व्यापकरुपमा जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस मनाउने गरिएको पाइन्छ ।

((

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update