Shittalpati
विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइँदै

पाल्पा,  आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैछ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ । यस वर्ष ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ३८औँ विश्व एड्स दिवस मनाइँदैछ ।

पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण(प्रिभ्यालेन्स दर) रहेको छ ।  केन्द्रले सार्वजनिक गरेको ‘एचआइभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कूल एचआइभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् । सन् २०२४ मा ६१४ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ भने ५६९ व्यक्तिहरुको एड्सका कारणले मत्यु भएको अनुमान गरिएको छ । सो वर्षमा ३७ बच्चामा (०–१४ वर्ष) नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ ।

नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, कारागारमा रहेका कैदी बन्दीहरु, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशीनेहरु छन् । सरकारले हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरुबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको  छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुन सङ्क्रमण रोकथाम (पिएमटीसिटी) सेवा, पिएमटीसिटी कार्यक्रमा सञ्चालनमा छ जसअन्तर्गत स्वास्थ्य संस्थामा गर्भवतीमा एचआइभी निःशुल्क जाँच सुविधा छ ।  विश्वमा एड्सको अवस्था सन् २०२४ को अन्त्यसम्म संसारमा चार करोड आठ लाख व्यक्तिमा एचआइभी सङ्क्रमित रहेको अनुमान छ । विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् । 


 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update