Shittalpati
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौं, बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अदालते उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।

सन् २०२४ को जुलाई–अगस्ट विद्यार्थी विद्रोहका क्रममा आदेश, उक्साहट र नियन्त्रण असफलताले देशव्यापी हिंसा चर्किएको निष्कर्ष निकालिएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१) ले सोमबार सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । अदालतले हसिना, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुन र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलले विद्यार्थी आन्दोलन दमनका लागि अत्याचारको योजना बनाएको र सक्षम पारेको ठहर गरेको हो । ७८ वर्षीया शेख हसिना हाल भारतमा निर्वासनमा रहेकी छन् । उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो ।

सन् २०२४ अगस्ट ५ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा छ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ । त्यही दिन आशुलियामा पनि छ जनालाई गोली हानेर पाँच जनाको शव जलाइएको र एक जनालाई जीवितै जलाइएको आरोप कागजातमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update