
पाल्पा, दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको लर्को लागेको छ । विद्यालय र कलेज बन्द भएको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि पाल्पा, बुटवल बसपार्कमा घर जानेको चाप बढेको हो ।
यति बेला काठमाडौंबाट गाउँघर फर्कनेको समेत गाडीमा भिड देख्न सकिन्छ । विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि घरबाहिर रहेकाहरु दसैंमा आफ्नै गाउँ फर्कन लागेका हुन् । दसैंको अवसरमा सहर छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यति बेला पाल्पा, बुटवल बसपार्कमा बढी चहलपहल छ, जहाँ बिहान र साँझमा घर जाने यात्रुको भिड बढ्ने गरेको छ । गाउँ जानेहरूको संख्या बढेसँगै सहर सुनसान बन्दै गएका छन् । गाउँमा भने चहलपहल बढेको छ । घर लिप पोत गरेर चिटिक्क बनाइको छ । झार उम्रेका घर आँगन समेत सरसफाइ गरेर चिटिक्क पार्ने क्रम बढेको छ, भने बाटो घाटो र चौतारी पोखरी सरसफाइ गरिएको छ । दसैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, बिग्रे भत्केको मर्मत गर्ने, आँगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशैंमा खोसिएको गाउँको खुसी फर्कन्छ । नेपालीको मुख्य चाडपर्वका रूपमा रहेको दशैं, शुभ दीपावली, छठ तथा नेपालसम्मत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि तानसेन बजारमा चहल पहल छाएको व्यापारीहरूले बताएका छन् । गाउँ जाने यातायातका साधनहरूले धमाधम गाउँमा यात्रु ओसारिरहेका छन् ।
सवारी साधानहरुमा भिड भाड हुन थालेपछि जिल्लामा सुरक्षाका लागि यात्रु सहायता कक्ष समेत सञ्चालनमा ल्याइएको छ । चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी यहाँको मुख्य स्थान तासेनस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, श्रीनगर यातयाता व्यवसायीसँगको समन्यवय र सहकार्यमा यात्रुलाई लामो र छोटो दूरीको यात्रा गर्दा समस्या नपरोस् भनेर कक्षको स्थापना गरेको छ । यात्रुहरुले आफु माथी परेको अन्याय, अत्याचारको गलत काम कारवाहीका सूचना प्रहरी समक्ष गुनासो गर्न, बढी भाडा, सवारी साधन, अत्याधिक भारवहन, तिव्र गति भएको अवस्थामा प्रहरीलाई खबर गर्न सक्ने छन् । चाडपर्वमा विशेषगरी सवारीसाधन कम चल्ने र यात्रुको चाप बढी हुने गर्दछ यस्तो अवस्थामा मनपरी भाँडा असुल्ने, सामान छुट्न सक्छ, गन्तव्यमा हिडेका यात्रुहरु अलमलमा पर्ने जस्ता समस्या हुने भएकाले सहजताका लागि सहायता कक्ष स्थापना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश उप्रेतिले बताए ।