
पाल्पा,आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको संझना स्वरुप यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । साल २०३१ पछि विभाग स्थापना भएको दिन श्रावण २४ गतेलाई “भूसंरक्षण दिवस” को रूपमा मनाउने गरिएको पाइन्छ । विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आइएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ । हाल आएर भू उपयोगको ढाँचामा तीव्र परिवर्तन आइरहेको छ । भू–क्षयकै कारण हाल जमिनको उर्वराशक्तिमा समेत ठूलो ह्रास देखा पर्दै गएको छ । प्रकृतिको पारिस्थितिक सन्तुलनलाई जोगाउनका लागि समेत अहिले भू–संरक्षणको महत्व र भूमिका सर्वाधिकरुपमा बढ्दै गएको छ, तर सरकारी तवरबाट भने यसको कुनै पनि चासो देखाइएको छैन । जिल्ला–जिल्लामा भू–संरक्षणका लागि काम गर्ने निकायहरुको स्थापना भएको देखिए पनि त्यसबाट प्राप्त सेवाप्रवाह भने चित्तबुझ्दो छैन । भू–संरक्षणका लागि नै भनेर २०७५ सालदेखि नीतिगत निर्माण कार्यान्वयनमा नआएको होइन, तर भू–संरक्षणमा देखिएको लापरवाही देशमा वृद्धि हुने क्रमले गति लिँदा त्यस्तो नीति सही ढ·ले लागू हुन नसकेको प्रस्टै छ ।