
पाल्पा, लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले २० औं स्थापना दिवस मनाएको छ । अडानले मंगलबार तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रममा लेखा व्यवसायलाई कसरी व्यवस्थित बनाउने, सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर सम्बन्धी भएका व्यवस्था, मौद्रिक नीतिले पार्ने प्रभाव लगायतका विषयमा व्यापक छलफल तथा अन्तक्र्रिया भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले जिल्लामा रहेका रिजस्टर लेखापरीक्षकहरुले गरेको कार्य अत्यन्तै प्रभावकारी भएको बताए । उनले जिल्लाका लेखापरीक्षकहरु सबै सक्षम र राज्यका कर प्रणालीका विषयमा जानकार भएकाले यहाँको कर असुलीमा कुनै पनि समस्या नभएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठले नीजि क्षेत्रले करको माध्यमबाट सरकारको राजस्व असुलीमा महत्वपूर्ण योगदान गरेको बताए । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले सहकारी संस्थाहरुको लेखा परीक्षणका क्रममा लेखा परीक्षकले गम्भीर भएर ध्यान दिए मात्र सहकारी संस्थाहरुमा देखिएको अपचलनको समस्याहरु कम हुदैँ जाने धारणा व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव एवं अग्रज पत्रकार भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने लगायतले सहकारी संस्थाहरुलाई लगाइएको कर वैज्ञानिक नभएको धारणा राख्दै लेखापरीक्षकहरु केवल लेखा परीक्षणमा मात्र नभएर, आर्थिक परामर्शदाताको रुपमा काम गर्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा अडान लुम्बिनी प्रदेश सह–सचिव विक्रम भट्टराई, केन्द्रीय प्रतिनिधी लीला अर्याल, दीवाकार अर्याल लगायत जिल्लाका पदाधिकारी एवं रजिस्टार लेखापरीक्षकहरुको सहभागिता रहेको थियो । अडान पाल्पाका अध्यक्ष राधेश्याम ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण कोइरालाको स्वागत, कोषाध्यक्ष यज्ञप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।