Shittalpati
अग्रजलाई सम्मान गरौं

पछिल्लो समय अग्रज तथा जेष्ठ नागरिक अपहेलित बन्दै गएका छन् । उनीहरु आफ्नै सन्तानबाट समेत अपहेलित हुनुपरेको अवस्था छ । ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार भनेको त्यस्तो संक्रमणको अवस्था हो जसमा शारीरिक, संवेगात्मक, मनोवैज्ञानिक, यौनिक वा आर्थिक नोक्सानीको व्यवहार वृद्धवृद्धाहरूप्रति गरिन्छ । स्याहारकर्ताले यस्तो बेवास्तापूर्ण दुव्र्यवहार जानीजानी वा नजानीकन गर्ने गर्छन् । अग्रज दुव्र्यवहारका सिमाहरु शारीरिक कुटपिटदेखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ । अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन । सोमबार विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाईदै छ ।

अग्रजहरुको सम्मानमा दिवस मनाउने गरिन्छ । तर नेपालमा दिवस मनाउने गरिए पनि यसले सार्थकता पाउन भने सकेको छैन । नेपाली समाजमा वृद्धवृद्धा भएपछि उनीहरुलाई गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा अग्रजहरुको जीवनमा ठोस पुगेको छ । सम्पती, अशंवण्डा, पेवा फाँट अनि जीवनीको सम्पतिका विषयमा हुने झगडामा सबैभन्दा दुःख र कष्ट पनि अग्रज पुस्ताले नै बेहोर्नु परेको छ । यस्तो वृद्धवृद्धा प्रतिको बेथीति नेपाली समाजमा पनि कहाली लाग्दो छ । यो अत्यन्त दुःखद् हो । सरकारकै तर्फबाट वृद्धवृद्धा सुरक्षा योजना या संरक्षण नीति नभएकाले नेपालमा यस मुद्दा अझ गहन बनेको छ । देशलाई उमेरभरी उत्पादकत्वमा सहयोग गरेका अनि कर तिरेका वृद्धवृद्धाहरु उमेर पुगेपछि केही थान हजारका नोट समातेर भत्ताको सुक्ष्म गाँसमा बस्नपर्ने बाध्यता छ । अग्रजप्रति देखाएको व्यवहारतर्फ हामी सबै संवेदनशील हुन जरुरी छ । आज हामीले आफ्ना अग्रजहरुलाई सम्मान गर्न नसक्दा भोलि हामी हाम्रो पछिल्लो पुस्ताबाट सोही खालको व्यवहारको भागिदार हुनुपर्दछ भन्ने कुरा हामीले हेक्का राख्न जरुरी छ । यदि हामी हाम्रा सन्तानबाट बुढ्यौलीमा आदर, सम्मान र मायाँ चाहन्छौं भने अहिले हामीले अग्रजहरुको सम्मान गर्न जान्नु पर्दछ । शरीरमा तातो रगत रहँदासम्म हाम्रा लागि अथक मेहनत गरेका हाम्रा अग्रज दुव्र्यवहार होइन, आदर र सम्मानका हकदार हुन् । अग्रजहरुको अनुभवबाट हामीले सिक्न सकिने धेरै कुरा छन् । तसर्थ उनीहरुका कुरा सुनौं र आदर, सम्मान गरौं । सम्पूर्ण अग्रजहरुमा नमन ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update