
पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले मादल बजाउने तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले एक हप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।
तालिम आइतबारदेखि तानसेनमा सुुरु भएको छ । तालिमको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै उनले तालिमले कला, ज्ञान, सिप आर्जनसंगै संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने “तालिमले गाउँ छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव हुँदैन भन्ने हामी विश्वास लिएका छौं ।” प्रवक्ता कार्कीले स्थानीय कला, संस्कृति संरक्षणमा प्रतिष्ठानले देखाएको चासो र सक्रियता महत्वपूर्ण रहेको भन्दै आवश्यक सहयोग गर्न नगर सरकार प्रतिवद्ध रहेको बताए । तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले तालिम मादल बजाउनमा मात्र सिमित नहुने भन्दै यसले संस्कृतिको संरक्षणसँगै बाध्यवाजनको संरक्षण पनि हुने बताए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरे, पाल्पा व्यापार संघका उपाध्यक्ष कमल ढकाल लगायतले तालिममा सिकेका ज्ञानलाई अभ्यास मार्फत दक्ष मादल बाधक बन्न सहभागीहरुलाई आग्रह गरे ।
मौलिक बाजा र कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताए । उनका अनुसार मादल बजाउन सिक्न इच्छुक बालबालिका, युवा, युवती, महिला पुरुषहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा ३० जना भन्दा बढीको उपस्थिति रहेको छ । प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् । उनले ७ दिनको तालिममा मादल बजाउनका लागि आधारभूत ज्ञान, सिप सिकाईने बताउँदै सिकेका ज्ञानसिपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । तालिम शुभारम्भ कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईको अध्यक्षता, उपाध्यक्ष कार्कीको स्वागत, सह–सचिव रामकृष्ण थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।