तिज नेपाली हिन्दु महिलाहरुको महान चाड हो । भाद्र शुक्ल तृतीयाको दिन शिवको आराधना र नाचगान गरेर धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । पितृसतात्मक पारिवारीक अवस्था रहेको नेपालका लागि घर भित्र मात्रै खुम्चिएर बस्ने महिलाहरुलाई बाहिर ल्याउन र पिर मर्का अरु समक्ष राख्न प्रेरित गर्ने पर्व पनि हो यो ।
परम्परा र सांस्कृतिक महत्व राखेको यो पर्व हाम्रो घर आगनमा आउन थालिसकेको छ । हिजो कुनै जाती, भाषा, धर्म, लिङ्ग र क्षेत्रमा मात्रै सिमित यो पर्व आज सबै नारीहरु बिच एकताको पर्वको रुपमा रहेको छ । हिजो महिलामा मात्रै सिमित यो पर्व आज पुरुषहरुमा पनि उत्तीकै महत्व रहेको देखिन्छ । दिदी बहिनीहरुसँग भेटको रुपमा यस पर्वको वैज्ञानिक सम्बन्ध रहेको देखिन्छ । आज भोली पर्व मनाउने आधुनिकताको नाममा यसको परम्परागत महत्व नै संकटमा पर्ने हो की ? एक प्रकारको चिन्ता पनि देखिन थालेको छ । यस पर्वको साँस्कृतिक, मौलिक र धार्मिक पक्षलाई जोगाउनु हामी सबैको कर्तव्य पनि हो । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
परम्परा र धार्मिक पक्ष :
तिज सदियौंदेखि चल्दै आएको नेपालको मौलिक र जीवन्त संस्कृत्ति हो । यो हाम्रो वैदिक सनातन धार्मिक परम्परा पनि हो । स्कन्दपुराणमा उल्लेखित कथन अनुशार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिएका थिए तर पार्वतीलाई विष्णु भगवानसँग विवाह गर्न मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको कठोर तपस्या गरेको एक सय वर्ष पुरा हुँदा पनि आफूले गरेको तपस्याको फल नपाए पछि एक दिन उनले बालुवाको शिव लि· स्थापना गरी निराहार व्रत बसिन् । यसरी पार्वती कठोर ब्रत बसेका कारण शिव भगवान प्रकट भै चिताएको कुरा पुराहोस् भनेर आर्शिवाद दिएको र सोहि आर्शिवादकै कारण शिव पार्वतीको विवाह हुन् पुग्यो भन्ने किम्वदन्ती पाइन्छ ।
उक्त दिन भाद्र शुक्ल तृतीयाका दिन पर्ने र सोहि दिनको सम्झनामा हिन्दु नारीहरुले हरीतालीका तिज पर्वको रुपमा मनाउँदै आएको धार्मिक कथनबाट थाहा पाउन सकिन्छ । यहि धार्मिक मान्यताका आधारमा तिजको अघिल्लो दिन शक्ति प्राप्तिका लागि मिठो र अडिलो परिकारका रुपमा दर खाने र अर्को दिन विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु र सुस्वाथ्यको कामना गर्दै र अविवाहीत महिलाले राम्रो र सुयोग्य वर पाउँ भनी व्रत बस्ने चलन रहेको छ । यस पर्वमा विशेष गरेर भगवान शिवको आराधाना गर्नुका साथै, नाचगान र मिठो मसिनो खानका लागि आफ्ना दिदि बहिनीलाई घरमा निम्त्याउने परम्परा समेत रहेको छ ।
तिज पर्व नेपाल लगायत भारतका विभिन्न स्थानमा पनि मनाउने गरेको पाईन्छ । जहाँ हिन्दु नेपालीको बाहुल्यता रहेको छ त्यहाँ यो पर्व मनाउने गरिन्छ । हाल नेपालीहरु विश्वका धेरै देशका स्थायी र अस्थायी रुपमा बसोबास गर्ने प्रवृत्ति बढ्दै गएकाले यो पर्व नेपालमा मात्रै नभएर धेरै देशहरुमा धुमधामका साथ मनाउन थालेको देखिन्छ । नेपालको साँस्कृत्तिक पहिचानको रुपमा विश्वमा यसले फरक छाप छोड्न सफल भएको कारण धार्मिक, सास्कृतिक, परम्परागत विविधतालाई विश्वभर पुर्याउन यस पर्वले थप सहयोग पुर्याएको देखिन्छ ।
तिज पर्व हिजो र आज ः
पहिले पहिले सञ्चार, यातायात र शिक्षा चेतनाको अभावको कारण विवाह गरेर पठाएकी छोरी चेली आफ्नो घर व्यवहारमा नै केन्द्रीत हुने गर्दथे । बुहारी र सासुबिच फराकिलो सम्बन्ध हुने गर्दथ्यो । सासुहरु बुहारीका लागि तानशाहको रुपमा प्रस्तुत हुने गर्दथे । बुहारीलाई घरको काम देखाई माईत जान सहज तरीकाले दिइदैन्थ्यो । घरमै पुगेर अनुरोध गरेर भाका मागेर छोरी चेलीलाई माईत ल्याउनु पर्ने बाध्यात्मक अवस्था थियो । विशेष गरेर पञ्चमीको अर्को दिन चेलिबेटीलाई घरमा फर्कन पर्ने समय अवधि तोकिन्थ्यो । बुहारीले आफुलाई परेको अप्ठ्यारो कतै व्यक्त गर्न र सुनाउने ठाउँ हुँदैनथ्यो । तिज यस्तो पर्वको रुपमा थियो जुन बेला बुहारीले आफुलाई परेको पिर मर्का गीत मार्फत सुनाउने, बर्षौ नभेटिएका चेलीबेटीहरु भेट्ने दुखःसुखका कुरा गर्ने, मिठो मसिनो खाने अवसर प्रदान गर्दथ्यौं । सो समयमा तिज पर्वको महत्व विशिष्ट देखिन्थ्यो तर समय परिवर्तनशिल छ । नदीमा पानी धेरै बगिसकेको छ । त्यो विगतको परिस्थीती कथा जस्तो बन्न गएको छ ।
महिला अधिकार अनुकुलका व्यवहार प्रस्तुत हुन् थालेका छन्, समय महिलामैत्री बन्दै गएको छ, ऐन, नियम, कानुन सोहि अनुकुलको बन्न थालेको छ । मिठो खान, राम्रो लगाउन, आफ्ना कुरा राख्न, आफन्तसँग भेटघाट गर्न तिज पर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । अन्त्यसँगै नेपाली हिन्दु नारीले तिज पर्व मनाउने क्रममा आधुनिकता भित्र्याउदै गएको देखिन्छ । दुर्गम ग्रामीण क्षेत्रहरुमा यसको मौलिकता कतै भेटिएता पनि शहर तिर भने यो पर्वमा आधुनिकता भित्री सकेको छ भने यसले तिज पर्वको गित, नाच, दर, गरगहना कपडामा आदिमा परिवर्तन देखिएको छ । तिजको अघिल्लो दिन खाने दर दुई महिना अगाडि देखिनै होटल, रिसोर्ट र पाटी प्यालेसमा ठूलो रकम खर्च गरी खान थालिएको छ । दरमा मौलिकता हैन् आधुनिकता भित्रिएको छ । दरका नाममा मादक पदार्थ र विदेशी खाना खान थालिएको छ । तिजमा गाईने गितका शब्द र नाचमा आधुनिकता भित्रिएको छ । रहन सहन, भेषभुषा, गरगहनामा देखासिकी र प्रर्दशन प्रभाव परेको छ । दुख सुख साटासाट् गर्नु सट्टा धाक धक्कु लगाउने र खर्चिलो बन्दै गएको देखिन्छ । यहि कारण तिज पर्वको परम्परा र मौलिकता जोगाई पुस्ता हस्तान्तरण गर्ने कुरामा समस्या सिर्जना भएको देखिन्छ ।
विगत केहि वर्षदेखि तिज पर्वलाई विकृत बनाउन र सस्तो लोकप्रीयताका लागि गाईने कलाकारका गीतले थप सहयोग पुर्याउन खोजेको देखिन्छ । यो वर्ष पनि विकृतिले निरन्तरता पाएको देखिन्छ । ओछ्यानले पोल्यो मलाई, तीन महिने सुहि जस्ता रतौलि र डिस्कोका गीत सार्वजनिक भए । तिजमा खाने दरमा रक्सी भित्रिएको छ, नाच छोटा कपडा लगाएर नाच्न थालिएको छ, मादल र थपडी बजाएर गाईने गीत डेग र क्यासेटमा घन्काउन थालिएको छ, चौपारी मन्दीरमा हैन् डिस्कोमा जम्मा हुन् थालिनु यस पर्वका विकृत पक्ष हुन् । तिज पर्वलाई पश्चिमी छाडा संस्कृतिसँग जोडेर खर्चिलो र भड्किलो, गरीब र धनीबिच दुरी बढाउने खालको बनाउन खोजिएको देखिन्छ । यस्ता क्रियाकलाप रोक्नका लागि राज्यले आवश्यक नीति बनाई समयमै ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
निष्कर्ष :
आधुनिकताका नाममा खर्चिलो र भड्किलो तिज पर्व होइन, मौलिक र परम्परागत तिज पर्वको अभ्यासको लागि महिला वर्ग नै लाग्नु पर्ने देखिन्छ । यो पर्वको मौलिक र विशिष्ट पहिचानलाई जोगाई आलोचना र विकृतिबाट बचाई पुस्ता हस्तान्तरण गर्ने दायित्व पनि उनीहरुकै काधमा रहेको छ । तिज गीत तिज गितकै रुपमा हुनुपर्दछ । यसले रतौलिको रुप लिनु हुँदैन् ।
होटल र रिसोर्टमा हैन्, विदेशी खाना र मादक पदार्थसँग हैन् हाम्रै परम्परा र पूर्खाले सुरुवात गरे अनुशार हुनुपर्दछ । कथित आधुनिकताको नाममा तिजको पहिचान नै गुम्ने स्थिति आउनु हुँदैन् । तिज पर्व मात्रै नभएर यो हाम्रा अमूल्य धरोहर पनि हो, विश्वमा नेपाललाई चिनाउने पहिचान पनि हो । सव्यता र संस्कृत्ति जोगाउनु हामी सबैको कर्तव्य पनि हो । तिज पर्व वि.स २०८१ को सम्पूर्ण नारी वर्गमा हार्दिक शुभकामना । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)