Shittalpati
चैते दसैँ र यसका अन्तर्वस्तु

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्वपूर्ण स्थान रहेको छ । नेपालमा ठाउँ अनुसार फरक–फरक ढंगले चैते दसैँ मनाउने गरिन्छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्दछन् । चैते दशैं शरद ऋतुमा मनाइने बडा दसैँमा जस्तो बाहिरी उल्लास र चहल पहल नभए पनि समग्रमा उल्लासमय हुने गर्दछ । यस दिन दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेरसँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ । चैते दसैँलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ । हाम्रो संस्कृतिलाई जीवन्त राख्न यो पर्वले ठूलो महत्व राख्दछ ।

आजकै दिन मर्यादा पुरूषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिरेको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गरेका थिए । यसरी रावणको वध गर्नका लागि देवी दुर्गाले रामलाई मद्दत गरेकी थिइन् । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । चैते दसैँका दिन उनीहरुको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रुपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता छ । आजका दिन छोरी चेली लगायत दिदी बहिनीहरुलाई बोलाएर मिठो मसिनो बनाएर खुवाउने चलन पनि गाउँघरमा रहेको छ । पछिल्लो समय पर्वको रौनक घट्दै गएपनि यसको सामाजिक महत्व भने उत्तिकै छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update