Shittalpati
नयाँ वर्ष शुभ रहोस्  !

हामी आजदेखि २०८१ मा प्रवेश गरेका छौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०८० सालले हामीबाट बिदा लिएको छ । २०८१ साललाई आपसमा शुभकामना दिँदै स्वागत गरेका छौं । हाम्रो नेपाली पात्रोका आधारमा मात्र नभएर अरू मुलुक र विभिन्न धर्म–सम्प्रदायका आ–आफ्नै समयतालिका अनुसार नयाँ वर्ष मनाउने गरिएको पाइन्छ । नयाँ उमंग, नयाँ संकल्प र नयाँ ऊर्जाले व्यक्तिगत रूपमा, सामाजिक रूपमा र समग्रतामा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको चाहनालाई अरू व्यवहारिकता प्रदान गर्दै निरन्तरता दिन र यसलाई जीवन्त राख्ने संकल्पको याद दिलाउँछ प्रत्येक नयाँ वर्षले । नयाँ वर्ष शुरु भएको उपलक्ष्यमा आफन्त, साथीभाइ र चिनेजानेकालाई एक–अर्काले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ । त्यसै अनुरुप नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिँदै छ । विश्वका हरेक देशमा पुरानो वर्षको बिदाइ र नव वर्षको आगमनमा स्वागत गर्ने आ–आफ्नो किसिमको कार्यशैली छ । विगतमा घटेका जे–जस्ता घटनाहरु भएपनि त्यसलाई चटक्क बिर्सिई नयाँ जोस र जाँगरलाई अगाडि बढाएर सुखद भविष्यको परिकल्पना गर्नु स्वाभाविकै हो । विगत वर्षहरुझैं २०८० पनि अब इतिहास भइसकेको छ । भूतकालमा भएका कमी–कमजोरी र त्रुटि सम्झिएर चिन्तित हुनुभन्दा इतिहासलाई गुरु ठानेर भविष्यको सम्यक विश्लेषण र दिशा निर्धारण गर्नतिर सचेत रहनु मानवीय धर्म हो, कर्तव्य हो ।

एउटा वर्ष सकिनु भित्तामा पात्रो फेरिनु मात्रै होइन । विगतमा भएका घटना र यसबाट पाठ सिक्दै आगामी सम्भावनाको खोजी पनि नयाँ वर्षले गर्छ । वितेको वर्षमा भएका घटनाबाट व्यक्ति, समाज र राष्ट्रले धेरै शिक्षा लिन सक्छ । आगामी वर्षमा कसरी अघि बढ्ने भन्नेबारे मार्गचित्र बनाउन सक्छ । नयाँ दशकको उत्तरोत्तर खुड्किलो चढ्ने क्रममा हाम्रा पाइला भने सुस्त गतिमा छन् । हर्षोल्लासपूर्ण यस घडी कतिपय निराशाले जकडिएको छ । देशको राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रको परिसूचक ओरालो यात्रामा छ । नयाँ वर्षको नवउत्साहसँगै त्यसलाई हामीले बदल्नुछ । देशलाई दिशा र गति दिनुछ । यस पावन अवसरमा तपाईं–हामी सबैमा त्यो सामथ्र्य आर्जन हुन सकोस् । अघिल्लो दशक र वर्षका अनिष्ट एवं अहितकर विषयलाई पन्छाएर भावी दिन सुखद, समृद्ध र स्वस्थ बन्न सकून् । सबैमा नयाँ वर्षको शुभकामना ¤

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update