Shittalpati
मानव अन्तरिक्ष विमान दिवसको सार्थकता

आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको छ । सन २०११ को अप्रिल ७ को संयुक्त राष्ट्रसंघको महासभाको ६५ औं संस्करणले प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रुपमा मनाउने निर्णय सदर गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । यो निर्णयलाई सबैले सकारात्मक रुपमा लिए र यो दिवस मनाउन थालियो । रुसले यस दिवसलाई ‘कसमेनोटिक्स डे’का रूपमा मनाउँदछ भने पूर्व सोभियत संघका कतिपय राज्य र ठाउँहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर पनि मनाउने चलन छ । 

जे भएपनि यो दिवसको मूल मर्म भनेको मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्नु नै हो । यस दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर समेत गरेको छ । अहिलेको युगमा मानिस अन्तरिक्षमा पुग्न सफल हुनुलाई यसको एउटा कडीको रुपमा लिइन्छ । अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मंगल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ । यसलाई अत्यन्त सकरात्मक रुपमा लिनुपर्छ । आजको प्रविधिलाई सही रुपमा प्रयोग गरी देश र जनताका लागि समर्पित हुन पनि आजको दिनले महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ आजको दिनमा मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूका बारेमा चर्चासँगै आगामी दिनमा गर्न सकिने सम्भावना चुनौतीहरूका विषयमा व्यापक समिक्षा र छलफल हुन जरुरी छ । यसो गर्न सकियो भने मात्र यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update