Shittalpati
‘बहुउपयोगी नीम’ उपयोग गरौं

आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो । नीमको रुखका हेरक भाग औषधिका रुपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ । यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । आज त्यही नीमको पात खाने दिन पनि हो । नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आइरहेको छ । यो स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो । नीममा भएको एन्टी इन्फ्लेमेट्री तत्वले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले स्पास्थ्यलाई राम्रो गर्दछ । यसको जुसले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्ने आयुर्वेद विज्ञानमा उल्लेख छ । नीमको पातहरूको रस र शुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रौराणिक मान्यता छ ।

आयुर्वेदमा नीमलाई विभिन्न रोगनाशक अत्यन्त गुणकारी औषधि मानिएको छ । नीमलाई ‘औषधि बनाउने रुख’को संज्ञासमेत दिइन्छ । यो एन्टिसेप्टिक, एन्टिबायोटिक, पीडानाशक, कृमिनाशक, जीवाणुरोधी, फंगलविरोधी, चर्मरोगनाशक हुन्छ । यसका विभिन्न भागमा १ सय ४० भन्दा बढी यौगिक पाइन्छ । यसको पात, फूल, बीउ, जरा औषधीय गुणले भरपूर हुन्छन् । नीमले रोगप्रतिरोधी शक्ति बढाई सुन्नाइ कम गरेर, मुक्त कणलाई हटाएर, हार्मोनल गतिविधिलाई रोकेर र कोषिका विभाजनमा बाधा उत्पन्न गरेर क्यान्सरको उपचारमा सघाउछ । यस्तै एउटा अर्को यसमा औलोविरुद्घको गुण हुन्छ । यसको पातले औलोविरुद्घ लडन सघाउँछ । अनुहारमा बारम्बार डन्डीफोर वा ब्ल्याकहेड हुँदा नीमको पातको प्रयोग गरे आराम मिल्छ । निमको पानीले अनुहार धुँदा यो समस्या कम हुन्छ । नीमले पसिनाको दुर्गन्ध समेत हटाउछ । शरीरको ओसिलो भागमा ब्याक्टेरिया उत्पन्न हुने गर्नाले दुर्गन्ध हुन्छ । यस्तोमा नीमको पानीले शरीर पखाल्ने वा पुछपाछ गर्ने गरे यस्तो समस्या हट्छ ।  यसका थुप्रै फाइदाहरु छन् । नीमलाई सहि रुपमा पहिचान गरी उपयोग गर्न सके स्वास्थ्यलाई धेरै हद स्वस्थ राख्न सकिन्छ । यसर्थ बहुउपयोगीका रुपमा रहेको नीमलाई उपयोग गर्ने दिशामा सबैको ध्यान जाओस् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update