Shittalpati
क्षयरोग उन्मूलनमा सकस

नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ । नेपालमा यो रोगका कारण दैनिक सरदर १२ जना भन्दा बढीको मृत्यु हुने गरेको पाइन्छ, भने वर्षेनी ४३ हजार भन्दा बढी नेपालीमा यो रोगको संक्रमण देखिने गरेको छ । नेपालमा यो रोगको संस्थागत रुपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न मोडल प्रयोग भए, तर विरामीको संख्या घट्न सकेको छैन । पछिल्लो समय यो रोग थप चुनौतिको रुपमा रहेको छ । भारत विश्वमै बढी क्षयरोगी भएको मुलुक मानिन्छ । त्यही देशसँग खुला सीमा जोडिएकाले पनि नेपालमा यसको नियन्त्रणमा थुप्रै चुनौती रहेका छन् । 

सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या घट्न नसक्नु द्खद् हो । सरकारको दिगो विकास लक्ष्यमा क्षयरोग निवारण पनि परेको छ । सन् २०३० सम्ममा क्षयरोगका बिरामी प्रतिलाख जनसंख्यामा २० जनाभन्दा कममा झार्ने, २०३५ सम्ममा प्रतिलाखमा १० भन्दा कम बनाउने र २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य छ । यद्यपी यो लक्ष्यले पुरा हुने सम्भावना निकै कम छ । क्षयरोगको व्यापकता र महत्वलाई जनता सामु उजागर गर्न र सम्पूर्ण सरोकारवालाहरुको ध्यानआकृष्ट गरी कार्यक्रमको प्रभावकारिता बढाउन हरेक वर्ष मार्च २४ तारिखमा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । यस वर्ष पनि यो दिवस मनाइसकिएको छ । तर दिवसले  सार्थकता पाउन सकिरहेको छैन । दिवसले त उपलब्धी हाँसिल गर्नुपर्ने हो । तथ्यांकमा फरक पार्न सक्नुपर्ने थियो । तर त्यसो हुन सकिरहेको छैन । अझै पनि ४५ प्रतिशत क्षयरोगका रोगीहरु उपचारबाट बञ्चित छन् । उपचारबिना रोगलाई नियन्त्रण गर्न नसकिने अवस्थालाई ध्यान दिँदा यति ठूलो संख्या त्यसबाट पर रहनु गम्भीर चुनौतीको विषय हो । क्षयरोग कुनै पनि वर्ग, उमेर समूह, धर्म, लिङ्ग, समाज, भूगोलमा बस्ने मानिसलाई लाग्न सक्ने सरुवा रोग हो । समयमै पहिचान र उपचार भएन भने यसलाई गम्भीर प्रकृतिको रोगका रूपमा पनि लिइन्छ । त्यसैले सबै सजग, सचेत र सावधान हुन जरुरी छ । सरकारले जिम्मेवारीपूर्वक कार्ययोजना बनाएर तदारुकताका साथ कार्यान्वयन पक्षमा लाग्न जरुरी छ । यसो भयो भने मात्र क्षयरोग नियन्त्रण तथा न्यूनीकरणको चुनौतीलाई चिर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update