Shittalpati
नयाँ अर्थमन्त्रीले सुधार्लान् अर्थतन्त्र ?

नयाँ आर्थिक वर्षका निम्ति बजेट निर्माणको तयारी भइरहँदा एकाएक सत्ता समिकरण फेरिएको छ । नयाँ समिकरण बनेपछि अर्थ मन्त्रालयको नेतृत्वमा वर्षमान पुन आएका छन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्त हुन् । २०६८ सालमा अर्थमन्त्री हुँदा मुलुकको अर्थतन्त्र जुन सहज अवस्थामा थियो । अहिले त्यो छैन । पुन निकै असजिलो बेलामा अर्थमन्त्रीको जिम्मेवारीमा आएका छन् । अर्थमन्त्रीका रुपमा उनको वास्तविक पहिचान यो पटकको जिम्मेवारीबाट हुनेछ । आर्थिक गतिविधि शिथिल भइरहेको र सरकारी राजस्व खुम्चिएका बेला अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न आएका पुनले अर्थतन्त्रको जटिलता फुकाउन सक्लान् ? यो सर्वत्र चासोको विषय बनेको छ । यो अप्ठ्यारोबाट पार लगाउनु उनको प्रमुख जिम्मेवारी हुनेछ । अहिले अर्थतन्त्रमा दुई प्रमुख समस्या देखिएका छन्, पहिलो सरकारको राजस्व संकलन उल्लेख्य घटेको छ । यो वर्ष बजेटले लक्ष्य राखेको राजस्व संकलन नहुने मात्रै होइन, अघिल्लो वर्षको तुलनामा समेत कम राजस्व संकलन हुने स्थिति छ ।

अहिले जति राजस्व सङ्कलन भएको छ, त्यसले मुलुकको साधारण खर्च धान्न समेत पुगिरहेको छैन । विकासका कामका लागि सरकारले ऋण काढ्नु परेको छ । यो स्थितिले सरकारी वित्तको सन्तुलन गम्भीर अप्ठ्यारोमा फसेको देखाउँछ । सरकारी ढुकुटीमा रकम रित्तिइरहेको छ । यस्तो अवस्थामा अर्थत मन्त्रीले अर्थतन्त्रलाई सुधार गर्न गम्भीर भएर लाग्नै पर्छ । सार्वजनिक ऋणको भार दोब्बर भएको स्थिति एकातिर छ भने अर्कोतिर निजी क्षेत्रले लगानी विस्तार गर्न सकिरहेको छैन । लगानीकर्ताको आत्मविश्वास डगमगाएको छ, अर्थतन्त्र चलायमान हुन सकेको छैन । यस्तो अवस्थामा अर्थमन्त्रीले निकै सुझबुझ र परिपक्व ढंगले निर्णय गर्नुपर्छ । यी चुनौतीलाई पार लगाउनुबाट नै पुनको सामथ्र्यको परीक्षण हुनेछ । राजस्व घट्नुको मुख्य कारण आयात खुम्चिनु भएपनि यसका अन्य कारण पनि छन् । भन्सार प्रशासनमा गम्भीर विचलन आएका कारण राजस्व छलेर सामान आयात गर्ने, चोरी पैठारी गर्ने प्रवृत्ति बढेको सरकारी अधिकारीले नै बताउँदै आएका छन् । त्यसैले, राजस्व छली रोक्ने सबै उपायका लागि अर्थमन्त्रीको पहलकदमी आवश्यक छ । राजस्व छली रोक्न गृह मन्त्रालयसँग समन्वय गरी परिणाम निकाल्नुपर्ने दबाब अर्थमन्त्रीमा रहन्छ । नवनियुक्त अर्थमन्त्री पुनले चुनौतीपूर्ण अर्थतन्त्र सम्हालेर अघि बढाउन कति सक्षम हुन्छन् भन्ने कुराले उनको कार्यकालको प्रभावकारिता तय गर्छ । यसर्थ वर्तमान आर्थिक अवस्थालाई आमनागरिकले महशुस गर्ने गरी सुधार गर्न सके उनको कार्यकाल सफल भएको मान्न सकिने छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update