Shittalpati
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित

काठमाडौं,चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । खेलको चौंथो मिनेटमा नै विष्टले पेनाल्टीमार्फत गोल गरे । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ताइपेईका चेङ हाओको हातमा लागेपछि नेपालले पेनाल्टीको अवसर पाएको हो । विष्टले पेनाल्टीको अवसर सहजै उपयोग गरे । खेलको ११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले रोके । यस्तै खेलको १६औँ मिनेटमा सुनिल बलको गोल गर्ने प्रयास सफल हुन सकेन् । खेलको २४औँ मिनेटमा अन्जन विष्टले गोलको प्रयास गरेका थिए तर उनी त्यसका चके । मध्यान्तरअघिको खेलसम्म ताइपेईले नेपालसामु निकै दबाबमा खेल्यो । सो अवधिभर नेपाली टोली ताइपेईमाथि हावी रहन पुग्यो । नेपाली खेलाडीहरूले बराबरी गोल गर्ने कुनै अवसर ताइपेईका खेलाडीलाई दिएनन् ।

मध्यान्तरपछिको खेलमा ताइपेईले आक्रामक खेल्यो । पटक पटक गोलको प्रयासहरू भए पनि ताइपेई सफल भने हुन सकेन् । यसबीचमा खेलको ५४औँ मिनेटमा सन्तोष तामाङको प्रयास पनि सफल हुन सकेन । यस्तै खेलको ७०औँ मिनेटमा ताइपेईले कर्नरकिकको मौका पाए पनि त्यसको नेपाली खेलाडीले बचाउ गरेका थिए । खेलको ८०औँ मिनेटमा मनिष डाँगी गोल गर्नबाट असफल भए पनि ८१औँ मिनेटमा भने नवयुग श्रेष्ठले उत्कृष्ट गोल गरे । योसँगै नेपालले ताइपेईविरुद्ध २–० गोलको अग्रता लियो । त्यसपछिको खेलमा ताइपेई केही आक्रामक खेल्न पुग्यो । उसको तर्फबाट पटकपटक गोलको प्रयास भए पनि सफल भने हुन सकेन ।

जितसँगै नेपालले ६ अंक जोडेको छ । नेपाल समूह बीको चौथो स्थानमा छ । ताइपेई हालसम्म अङ्कबिहीन छ । यसअघि पनि नेपालले ताइपेईलाई नै पराजित गर्दै तीन अङ्क जोडेको थियो । फिपा बरियतामा ताइपेई १४१औँ स्थानमा छ भने नेपाल १७१ औँ स्थानमा छ । दुवै देशका खेलाडीले कुवेतको गर्मीलाई मुख्य चुनौतीका रूपमा लिएका थिए । यसअघि नेपाल गत साता मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । –रासस

 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update