Shittalpati
जोखिम मौलेर काममा खटिएका सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीलाई पानी

इमान सिं राना
पाल्पा (रामपुर) । युथ युनियन मटेरी रामपुर ५ ले सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीलाई पिउने पानी उपलब्ध गराएको छ । क्लवले कोरोना भाईरस संक्रमणबाट बचाउन लकडाउन भए पनि जोखिम उठाएर काममा खटिरहेका रामपुर क्षेत्रमा कार्यरत सुरक्षाकर्मी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीलाई सोमबार पानी उपलब्ध गराएको हो ।

क्लवले बजार क्षेत्रका विभिन्न स्थानमा खटिएका नेपाल प्रहरी, सुरक्षा बेस क्याम्प रामपुरका नेपाली सेना, नेपाली रामपुर नगरपालिकाका स्वास्थ्य कर्मी, रामपुर क्षेत्र सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी र क्वारेन्टाईनमा रहेका युवाहरुलाई ५० कार्टुन बढी पानी वितरण गरेको हो । क्लवका अध्यक्ष अमिर रानाले विषम परिस्थितिमा पनि आफ्नो कर्तव्य पालन गरिरहेका राष्ट्र सेवकहरुको हौसलाको लागि पानीको व्यवस्था गरिएको बताए ।

उनले भने, ‘विश्व महामारी संग लडिरहेको अवस्थामा लकडाउनको विकल्प छैन । यस अवस्थामा पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका व्यक्तिहरुलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । त्यसैले पानी भए पनि उपलब्ध गराएका हौं ।’ कोषाध्यक्ष कमल राना (रोशन)का अनुसार क्लवले रामपुर अस्पताल, रामपुर नगरपालिका स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय रामपुर, सामुदायिक रेडियो रामपुर, रेडियो पाल्पा, पृथ्वी टेलिभिजन, किसानबारी र बेझाँडमा खटिएका नेपाल प्रहरी र गस्तीको क्रममा रहेको नेपाली सेनालाई पानी उपलब्ध गराएको हो । क्लवले आफ्नै कोष बाट खर्च गरेर पानी वितरण गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update