Shittalpati
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान

पाल्पा, तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ ।  ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्रले सम्मान गर्दैै समितिले थर्मस, हर्लिक्स र फोटो फ्रेमसहित खाजा नास्ता समेत उपलब्ध गराएको थियो ।

प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जेष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका हुन् । जेष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले जेष्ठ नागरिक समाजका पथप्रदर्शक रहेको बताए । उनले जेष्ठ नागरिकको सम्मान गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै टोल विकास संस्था समन्वय समितिले गरेको काम प्रशंसनिय रहेको उल्लेख गरे ।  वडाध्यक्ष सुनिल बस्यालले समितिले जेष्ठ नागरिकप्रति देखाएको सद्भाव र सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य गर्दै जाने बताए । समन्वय समितिका निवर्तमान अध्यक्ष मित्रलाल नेपालीले समाजमा अझै पनि जेष्ठ नागरिकहरुलाई गर्ने व्यवहारमा परिवर्तन नआएको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा विगत ४ वर्षदेखि टोल समन्वय समितिको अध्यक्षमा रहि कुशलतापूर्व जिम्मेवारी निर्वाह गरेका निवर्तमान नेपालीलाई समेत सम्मान गरिएको थियो । समितिका अध्यक्ष विजय प्रकाश आलेको अध्यक्षता, उपसचिव सिर्जना खड्काको स्वागत,सचिव  जयराम सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update