Shittalpati
अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले

रामचन्द्र रायमाझी
पाल्पा, राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । वि.सं. २०३३ पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए । सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिन्छ । शनिबार पनि ४७ औं दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विशेष गरी नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर पुुस १६ लाई हरेक वर्ष दिवसका रुपमा कार्यक्रम गर्दै आएका छन् । यसवर्ष पाल्पामा पनि नेपाल विद्यार्थी संघ, बीपी स्मृति प्रतिष्ठान नेपाल पाल्पाले छुुट्टाछुुट्टै कार्यक्रम गरी दिवस मनाएका छन् ।

देशभर कार्यक्रमहरु भए पनि दिवस औपचारिकतामै सिमित बन्न पुुगेको छ । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहे पनि अहिलेका नेताहरुले यसको अनुुसरण भने गर्न सकिरहेका छैनन् । विशेषतः काँग्रेसले बीपीको नीतिलाई आत्मसाथ गर्नु पर्ने भए पनि त्यसो गर्न नसकेको काँग्रेस भित्रै गुनासो छ । काँग्रेस भित्रैको लडाइले मेलमिलाप नीतिलाई गिज्याएको काँग्रेसका पुराना नेताहरु बताउँछन् । नेपाली काँग्रेसका पुुराना नेता गुल्मी इस्माका वीरबहादुर मल्लले बीपीको मेलमिलाप नीति अहिलेका नेताहरुले अनुसरण गर्न नसकेको बताउँछन् । उनी भन्छन्‘काँग्रेसले मात्र हैन अन्य दलका नेताहरुले पनि बीपीको मेलमिलाप नीतिको अनुुसरण गर्नुपथ्यो तर त्यसो गर्न सकेका छैनन् ।’ संविधानको रक्षा र लोकतन्त्रलाई सुदृढ बनाउनका लागि बीपीले देखाएको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाई छ ।

२०४६ सालमा देशका प्रमुख राजनीतिक दलहरू एकजुट भएर प्रजातन्त्रका लागि लडेको स्मरण गर्दै मल्लले कार्यगत एकताको आधार तयार गर्ने काम बीपीले गरेको बताए । २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा काँग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ । २०१७ सालमा तात्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा बीपीसहितका नेता भारत प्रवासमा गएका थिए । तर, मेलमिलापको नीति बोकेर नेपाल आएका बीपीसहितका नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजा समेतले पक्रेर काठमाडौंको सुन्दरीजल बन्दीगृहमा राखेका थिए ।

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए । राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४६ वर्षअघि उनीलगायत नेता नेपाल फर्केका हुुन् । विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा चिनिन्छन् । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी धेरैले गर्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update