Shittalpati
फ्रेन्च ओपन पनि स्थगित

पेरिस, कोरोना भाइरस महामारीका रूपमा विश्वभर फैलिएपछि दुई महिनापछि आयोजना हुने भनिएको ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपन पनि स्थगित गरिएको छ । ग्रान्डस्लाम फ्रेन्च ओपन आयोजकको निर्णयसँगै विश्व टेनिसको क्यालेन्डर नै थप अनिश्चित बनेको छ । यसले खेलाडीहरू र प्रतिस्पर्धी प्रतियोगितालाई पनि समस्यामा पारेको छ । पेरिसस्थित रोल्यान्ड गारोसको यो प्रतियोगिता परम्परागत रूपमा सिजनको दोस्रो ठूलो प्रतियोगिताका रूपमा आयोजना गरिन्थ्यो, जसलाई मे २४ देखि हुने तय भएकोमा सेप्टेम्बर २० बाट सञ्चालन गर्ने गरी मंगलबार सारिएको हो ।

नयाँ घोषित मिति अनुसार अब फ्रेन्च ओपन आगामी सेप्टेम्बर २० देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुनेछ । अर्को ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन सकिएको एक सातापछि नै फ्रेन्च ओपन सुरु हुनेछ । यूएस ओपन आगामी अगस्त २४ देखि सेप्टेम्बर १३ तारिखसम्म आयोजना हुने कार्यक्रम छ । नयाँ निर्णयअनुसार फ्रेन्च ओपनसँगै एसियन स्विङ र लेभर कपका प्रतियोगिता पनि परेका छन् । पुरुषको एटीपी टुर र महिलाको डब्लूटीए टुरका प्रतियोगिताहरू कोरोना भाइरसको महामारीका कारण हाललाई स्थगित गरिएको छ ।

प्रत्येक वर्ष टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगिता हुन्छ । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन जनवरीमा आयोजना हुन्छ । त्यसपछि दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपन मेमा आयोजना हुन्छ । तेस्रो ग्रान्डस्लामका रूपमा विम्बल्डन जुनमा सुरु हुन्छ भने वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन अगस्तमा सुरु हुन्छ । तर, कोरोना भाइरसको त्रासका कारण यस पटक फ्रेन्च ओपन वर्षको अन्तिम ग्रान्डस्लाम बन्ने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update