Shittalpati
युरोकप स्थगित गर्न प्रस्ताव

काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै इटालियन फुटबल फेडेरेसनले युरोकप २०२० स्थगित गर्न प्रस्ताव गरेको छ । इटलीले यसै वर्षको जुन जुलाईका लागि निर्धारित युरोकप स्थगित गर्न प्रस्ताव अघि सारेको हो । इटलीको घरेलु लिग सिरी ए पूरा गर्न पनि युरो स्थगित गर्न इटलीले युइएफएसँग आग्रह गरेको छ । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ । कोरोनाकै कारण सिरी ए अप्रिल ३ सम्मको लागि स्थगित भइसकेको छ ।

फेडेरेसनका अध्यक्ष ग्रेबियल ग्राविनाले युईएफएको आज बस्ने आकस्मिक बैठकमा आफूले सो प्रस्ताव लैजाने बताएका छन् । ‘हामी युरो च्याम्पियनसिप स्थगित गर्ने प्रस्ताव लैजादैछौं,’ ग्राविनाले भनेका छन् । गत मंगलबारदेखि सिरी ए फुटबल स्थगित छ । कोरोनाका कारण युरोपमा इटली सबैभन्दा धेरै प्रभावित बनेको छ ।

ग्राविनाले क्लबहरुले ठूलो लगानी गरेको र त्याग गरेकाले सिरी ए को अन्त्य सम्म पुग्न प्रयास गर्ने बताएका छन् । ‘हामी सिरि एको अन्तिमसम्म पुग्न प्रयास गर्नेछौं,’ उनले भने । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफले कोरोनाको बढ्दो संक्रमणलाई केन्द्रमा राख्दै मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसँग छलफल गर्दैछ । जसमा युरो लगायत अन्य प्रतियोगिताको बारेमा पनि छलफल हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update