Shittalpati
कोरोना संक्रमणका  कारण खेल स्थगित

काठमाडौं, चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् । फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप छनोट–२०२३ को खेल हाललाई स्थगित गर्ने निर्णय भएको छ ।

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल रोकेको हो । फिफाको निर्णयसँगै केही दिनअघि मात्रै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद गतिविधि लगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबल लगायतको खेलकूद गतिविधि तत्कालको लागि रोक्यो । एन्फाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनको लागि ठूलठूला घरेलु प्रतियोगिता एवं अन्तर्राष्ट्रिय प्रतियोगिता पनि रोकेको छ । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update