Shittalpati
नेपाली क्रिकेट  टिम स्वदेश फर्कियो

काठमाडौं, एसीसी इस्टर्न रिजन टी २० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यका साथ थाइल्याण्ड गएको नेपाली टोली खराब नतिजाका साथ स्वदेश फर्किएको हो । पाँच राष्ट्र सहभागि प्रतियोगितामा एक खेल मात्र जितेको नेपाल चौथो भएको थियो । थाइल्याण्डमा भएको प्रतियोगितामा चौथो स्थानमा रहेर घर फर्किएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टिमले नराम्रो खेलेको बताए ।

नेपालले खेलेका चार खेलमध्ये एकमा जित, एकमा बराबरी र दुईमा हार ब्यहोरेको थियो । शीर्ष दुईमा पर्न असफल भएपछि नेपालले एसिया कप छनोट खेल्ने मौका पनि गुमायो थाइल्याण्डमा भएको प्रतियोगितामा नेपालले मलेसिया र हङकङसँग शुरुमै हार बेहोर्दा लक्ष्य टाढा भइसकेको थियो । तेस्रो खेलमा घरेलु टोली थाइल्याण्डलाई हराउनु नै नेपालको एक मात्र जित रह्यो । सिंगापुर विरुद्धको खेल भने रद्ध भएको थियो । ब्याटिङ खराब हुँदा नेपालले मलेसिया र हङकङ विरुद्ध समान १ सय ५५ रनको लक्ष्य भेट्टाउन सकेन । नेपाल दुवै खेलमा अलआउट भयो ।

नेपालका कुनै खेलाडीले अर्धशतक प्रहार गर्न सकेनन् । सन्दीप लामिछाने टी २० क्रिकेटमा १०० विकेट पूरा गरे भने थाइल्याण्ड विरुद्ध ४ ओभरको स्पेशलमा २२ डट बल फाल्दै अर्को कीर्तिमान पनि बनाए । यस रिजनबाट सिंगापुर र हङकङ पहिलो र दोस्रो हँदै एसिया कप क्वालिफायरमा पुगेका छन् । वेस्टर्न रिजनबाट युएई र कुवेत एसिया कप क्वालिफायरमा पुगिसकेका छन् । अब अगष्टमा मलेसियामा हुने चार राष्ट्र सम्मिलित छनोटको विजेता टिम एसिया कपमा पुग्नेछ । थाइल्याण्ड बाहेकको खेलमा नेपालका कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

यसपटक पनि नेपाली टोलीको ओपनिङ जोडी परिवर्तन हुँदा फेल खायो । चार खेलमा नेपालले दुई वटा जोडीलाई ओपनिङका लागि पठाएको थियो । तर दुवै जोडीले राम्रो गर्न सकेनन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update