Shittalpati
ईपीएल पनि स्थगित

काठमाण्डौँ, विश्वमा पछिल्लो पटक त्रास मच्चाइरहेको कोरोना भाइरसका कारण चैत्र १ गतेबाट हुने भनिएको एभरेष्ट प्रिमियर लिग ईपीएल स्थगित भएको छ । मार्च १४ देखि २८ तारिखसम्म काठमाण्डौँमा हुने प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ । नेपाल सरकारले नै ठूला कार्यक्रम आयोजना नगर्न निर्देशन दिएपछि त्यसलाई मध्य नजर गरेर यो प्रतियोगिता स्थगित गरिएको हो । आयोजक जोरा स्पोर्टसले सरकारको निर्णयलाई ध्यानमा राख्दै हालका लागि स्थगित गरिएको र नयाँ मिति केही समयपछि सार्वजनिक गर्ने बताएको छ ।

यो प्रतियोगिता हुँदा दर्शक र खेलाडीलाई पर्नसक्ने सम्भावित असरबाट जोगिन सार्नुपरेको जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । उनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भए पनि अब फेरि सुरु गर्नुपर्ने बताए । ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी विदेशी खेलाडीका साथै खेल तालिका पनि सार्वजनिक भइसकेको थियो । यसका साथै यस पटक क्रिस गेल, कोरे एन्डरसनजस्ता खेलाडी नेपाल आएर खेल्ने तयारीमा थिए । यति मात्र नभइ प्रतियोगिताका लागि केही टिमले क्याम्प पनि सुरु गरिसकेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update