Shittalpati
नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ । थाइल्याण्डमा आयोजना हुने एसीसी टि–२० इस्टर्न रिजन खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले टोलीलाई विदाई गरेका हुन् । आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित ५ टिमले सहभागिता जनाउने छन् । नेपाली टोली आज थाइल्याण्ड जानेछ ।

एसिया कपको प्रारम्भिक छनोटको रुपमा समेत रहेको यस प्रतियोगितामा नेपाल, मलेसिया, सिंगापुर, हङकङ र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा किशोर महतो पहिलो पटक टिममा परेका हुन् । नेपालले पहिलो खेल शनिबार मलेसियासँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिम मलेसियामा हुने एसिया कप छनोटमा छानिने छन् । जसमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस अघि नै वेष्टर्न रिजनबाट युएई र कुवेत एसिया कप छनोटमा पुगिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update