Shittalpati
‘ए’ डिभिजन लिगमा मछिन्द्र च्याम्पियन

काठमाडौं, ‘ए’ डिभिजन लिगमा मछिन्द्र च्याम्पियन बनेको छ । जारी लिगको अन्तिम खेलमा आर्मीलाई १–० गोलले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला भएको खेलको ३३ औं मिनेटमा मछिन्द्र क्लबले उपहार गोल पाएको हो । रञ्जित धिमालले मध्य भागबाट गरेको फ्रिकिक क्लियर गर्ने प्रयासमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गर्न पुगे । त्यही गोल रोक्ने प्रयासमा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । उनको कम्मरमा चोट लागेको छ र मैदानमा प्राथमिक उपचारपछि ब्लु क्रस अस्पताल लगिएको थियो ।

कुथुको स्थानमा विश्वास चौधरीले मैदान प्रवेश गरेका थिए । जारी लिगमा उनको पहिलो खेल हो ।सो गोलले गर्दा मछिन्द्र क्लव च्याम्पियन बन्यो । ६८ औं मिनेटमा आर्मीका भरत खवासको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए । त्यस्तै ७९ औं मिनेटमा टंक बस्नेतको क्रसलाई गोलरक्षक विशालले बचाए । त्यस्तै ८५ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनाउने मौका गुमाउन पुग्यो । दिपक राईको फ्रिकिक गोल पोष्टबाहिर गयो । त्यसपछि दुई भर्सेस तीनमा नवयुग श्रेष्ठ चुक्न पुगे ।

खेलको अन्तिम समयमा आर्मीले पाएको कर्नर प्रहार मछिन्द्रका खेलाडीले असफल बनाए । अन्त्यसम्म आर्मीले कुनै गोल गर्न नसकेपछि मछिन्द्र क्लब च्याम्पियन बन्न पुग्यो । जितसँगै मछिन्द्रले १३ खेलबाट ३१ अंक जोड्दै उपाधि जितेको हो । गतसंस्करणमा पुछारबाट दोस्रो भएपछि कारवाहीस्वरुप १ अंक गुमाएको मछिन्द्र लिगको १२ चरणसम्म आर्मीले जस्तै ९ जित, २ बराबरी र १ हारको नतिजा निकाले पनि १ अंकले पछाडी थियो । शनिबारको खेल आर्मीका लागि बराबरी पर्याप्त भए पनि मछिन्द्रले जित्नैपर्ने थियो । मछिन्द्रका स्टार खेलाडीहरुले स्वभाविक जोश प्रदर्शन गरे र उपाधि सम्भव बनाए । आर्मी तेस्रो सिजनमा उपविजेतामै समेटियो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update