पाल्पा,आज मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मानव बेचबिखनविरुद्ध सचेतना फैलाउने, पीडितको संरक्षण गर्ने र अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन हरेक वर्ष सेप्टेम्बर ५ अर्थात् भदौ २० मा यो दिवस मनाउने गरिएको हो ।
दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणका विषयमा सचेतना फैलाइँदैछ । मानव बेचबिखन गम्भीर अपराधका रूपमा रहे पनि यसको स्वरूप र प्रकृति समयसँगै परिवर्तन हुँदै गएको छ । रोजगारी, वैदेशिक रोजगार, राम्रो शिक्षा तथा आकर्षक अवसरको प्रलोभन देखाएर महिला, बालबालिका तथा आर्थिक रूपमा कमजोर व्यक्तिलाई जोखिममा पार्ने घटना अझै चुनौतीका रूपमा रहेका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट समेत झुटा आश्वासन र प्रलोभन देखाउने क्रम बढेकाले थप सतर्कता आवश्यक देखिएको छ । दिवसले मानव बेचबिखन रोकथामका लागि परिवार, समुदाय, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज तथा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउन जोड दिएको छ । जोखिममा रहेका समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै पीडितको उद्धार, संरक्षण, पुनःस्थापना र सामाजिक पुनःएकीकरणमा ध्यान दिनुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएका छन् ।
मानव बेचबिखन नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै दोषीलाई कडा कारबाही र पीडितलाई न्याय तथा आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । साथै, रोजगारी तथा अन्य अवसरका नाममा हुने ठगीबाट जोगिन नागरिक स्वयं पनि सचेत र सजग हुनुपर्ने सरोकारवालाको भनाइ छ । दिवसका अवसरमा आयोजना हुने कार्यक्रममार्फत मानव बेचबिखनको जोखिम, यसबाट बच्ने उपाय, कानुनी व्यवस्था तथा पीडितका अधिकारबारे नागरिकलाई जानकारी गराउने उद्देश्य राखिएको छ । मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सरकारी प्रयाससँगै समुदायस्तरबाट समेत निरन्तर खबरदारी र सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।


