पाल्पा, दुई सय वर्षभन्दा लामो इतिहास बोकेको पाल्पाको भगवती रथ यात्रा यसपटक पनि निकालिदै छ । तर विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच होइन, देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा निकाल्न लागिएको हो ।
अग्रेंज सेनामाथि नेपाली सेनाले हासिल गरेको विजयको स्मरणमा मनाइँदै आएको विजयोत्सवस्वरूप भगवती रथजात्रा शनिबार पाल्पामा २०७ औँ संस्करणका रुपमा निकालिँदैछ । देश नै शोकको अवस्थामा रहेकाले यस वर्ष जात्रामा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताए । उनले भने “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेका हौं ।” उनका अनुसार विगतमा जस्तो पञ्चेबाजा, ढिमेबाजा हुँदैन । नेपाली सेनाको बाजा भने प्रयोग हुने अध्यक्ष महर्जनले बताए । आज अपराह्न्न १२ः३० बजे शुभसाइतमा भगवतीको रथ उठाइने उनले एनजेडीलाई जानकारी दिए । नेपाली सेनाले सलामी दिएपछि रथलाई मन्दिरको तीन पटक परिक्रमा गराइनेछ । मन्दिर परिक्रमा पूरा भएपछि पाल्पामा तैनाथ नेपाली सेनाका गणपतिले पूजाआजा गरी बलि दिने परम्परा छ । त्यसपछि नेपाल सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरबार परिसरमा विशेष पूजाआजा तथा बलि दिने प्रचलन छ । यी औपचारिकता पूरा भएपछि रथ सर्वसाधारणको दर्शन र पूजाका लागि नगर परिक्रमा गराइनेछ ।
पाल्पाको भगवती मन्दिरमा रहेको यो परम्परा केवल धार्मिक आस्था र संस्कृतिको निरन्तरता मात्र होइन, नेपालको स्वाधीनता र वीरताको इतिहाससँग जोडिएको जीवित स्मृति पनि हो । नेपाल–अग्रेेंज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको रथयात्रा गर्ने परम्परा रहिआएको छ। तत्कालीन तैनाथ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अग्रेेंज फौजलाई जितगढी किल्लामा विजय हासिल गरेको थियो । सोही बेलादेखि पाल्पाको तानसेनमा रहेको भगवती माताको रथयात्रा गराउने प्रचलन सुरु भएको स्थानीय राजेन्द्र गोपाल सिंहले बताए । उनले भने, “ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास लिएका छौँ । नेपाली सेनाले विजय हासिल गरेको दिनको विशेष सम्झना यसले दिलाउँछ।”
तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको सिंहले बताए । अंग्रेजसँग युद्ध लडेको तरबार प्रदर्शन गरी रथमा राखेर सेनाले बढाइँ दिने चलन रहिआएको छ । विजयउत्सव भगवती जात्रालाई तानसेन बजारको पाल्पा दरबार शीतलपाटी, भगवतीटोल, वसन्तपुर, कैलाशनगर, अशनटोल, नारायणस्थान, भीमसेनटोल, गोरखदल गण, बसपार्क आन्दोलनचोक, बडिज्ञानटोल, सिल्खानटोल, टक्सारलगायत स्थानमा घुमाउने गरिन्छ । जात्रा हेर्न पाल्पा, काठमाडौँ, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट उच्चपदस्थ व्यक्ति, सरकारी कर्मचारीलगायत आमनागरिकको उपस्थिति रहने जनाइएको छ । भगवती जात्राका दिन लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिँदै आएको छ । रथ यात्राको सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ ।


