पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्दुलीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका हुन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ बस्ने २४ वर्षीय सागर कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ३० ट्याब्लेट नियन्त्रणमा लिएको छ ।
यस्तै सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका–५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका–७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिराहा कल्याणपुर नगरपालिका–६ घर भएका २० वर्षीय अभिषेक कुमार साहलाई समेत पक्राउ गरेको छ ।


